काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशीमा गत बुधबार आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजीमा नेपाली सेनाले सक्रियता बढाएको जनाएको छ ।
शव सङ्कलन र व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेका गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो ‘अपरेसन’लाई थप तीव्र बनाएको उल्लेख गरेको छ । शव सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको छ ।
बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप एक हजार २०० सैनिक जनशक्ति परिचालन गरेको छ । यसअघि सेनाले प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि एक हजार ६०० जनशक्ति खटाएको थियो ।
नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर सङ्कलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ । नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र सङ्कलन गर्ने कार्यलाई अघि बढाइरहेको छ ।
नुवाकोटमा शव व्यवस्थापन
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्र्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विमलराज कँडेलको नेतृत्वको ३० जनाको टोलीले शव व्यवस्थापन गरिरहेको छ । उक्त शव व्यवस्थापनमा तालिम प्राप्त टोलीले धार्मिक, सांस्कृतिक र परम्पराअनुसार नै शव सङ्कलन गरिरहेको उनको भनाइ छ ।
शव व्यवस्थापसँगै परीक्षणका लागि अस्पताल पनि बढाउँदै आएको छ । टोलीले नुवाकोटमा प्राप्त कूल ३८ शवमध्ये २२ वटा त्रिवि शिक्षण अस्पताल, काठमाडौँमा पठाइसकेको छ भने आज बाँकी १६ वटा र थप शव पठाउने तयारी गरिरहेको प्रमुख रेग्मीको भनाइ छ ।




प्रतिक्रिया