बाढी प्रभावित क्षेत्रका १४ मोबाइल टावर एनसेलद्वारा पुनः सञ्चालन


काठमाडौँ । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १४ वटा मोबाइल टावर एनसेलले पुनः सञ्चालनमा ल्याएको छ। तीन जिल्लामा प्रभावित भएका कुल २७ वटा टावरमध्ये हालसम्म १४ वटा साइट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

एनसेलका अनुसार पुनः सञ्चालनमा आएका टावरहरूमा रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ वटा रहेका छन्। टावरहरू सञ्चालनमा आएसँगै ती क्षेत्रहरूमा अवरुद्ध हुँदै आएको मोबाइल तथा दूरसञ्चार सेवा क्रमशः सुचारु र सहज हुने अपेक्षा गरिएको छ।

विपद्को कठिन स्थितिमा प्रभावित समुदायलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन आवश्यक नेटवर्क तथा प्राविधिक स्रोतसाधन द्रुत गतिमा परिचालन गरिएको एनसेलले जनाएको छ। साथै, बाढी-पहिरोबाट प्रभावित बाँकी टावरहरूलाई पनि यथाशीघ्र मर्मत सम्भार गरी दूरसञ्चार सेवा निरन्तर रूपमा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।