भोटेकोशी बाढीमा बेपत्ता २७ प्रहरी (सूची)


काठमाडौं, भदौ १३ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी विवरणअनुसार रसुवागढी प्रहरी चौकीका आठ, इलाका प्रहरी कार्यालय टिमुरेका १०, प्रहरी चौकी स्याफ्रुबेँसीका तीन, प्रहरी चौकी हाकुका एक र अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।

रसुवागढी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सुरज गिरी, प्रहरी हवल्दार विकास बाबु अधिकारी तथा प्रहरी सहायक हवल्दार हिकमत महरासहित आठ जना सम्पर्कविहीन छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षकद्वय समबहादुर थापा र रामहरि खड्कासहित १० जना सम्पर्कविहीन छन् । प्रहरी चौकी स्याफ्रुबेँसीबाट प्रहरी सहायक निरीक्षक विनोद अधिकारीसहित तीन जना तथा प्रहरी चौकी हाकुबाट प्रहरी जवान सुशिल तामाङ सम्पर्कविहीन छन् । तामाङ हाङ्ग्रो पावरमा ड्युटीमा खटिएका थिए ।

अस्थायी प्रहरी पोष्ट मैलुङबाट प्रहरी नायब निरीक्षक मदनराज स्याङ्बोसहित पाँच जना सम्पर्कविहीन रहेको प्रहरी विवरणमा उल्लेख छ । यसैगरी, प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल बाढीको सूचना माइकिङ गरिरहेका बेला बगेका थिए । उनको शव फेला परी सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न प्रहरी कार्यालय तथा सुरक्षा संरचनामा समेत ठूलो क्षति पुगेको छ । बाढीपछि सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।