माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी- पुनः बाढी आउँदा कटान र लेदोको जोखिम


काठमाडौँ। बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि सरकारले रातभर सञ्चालन गरेको प्रयासलाई आइतबार पनि निरन्तरता दिएको छ। तर, आयोजना क्षेत्रमा पुनः बाढी आएपछि खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण र जोखिमपूर्ण बनेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह बढेसँगै आयोजना क्षेत्रको किनारमा तीव्र कटान भइरहेको छ भने बाढी र पहिरोका कारण आयोजनास्थलमा ठूलो मात्रामा माटो तथा लेदो थुप्रिएको छ।

क्षतिको अवस्था निरीक्षण गर्दै सरकारले लेदो तथा माटो हटाउन डोजर र अन्य भारी उपकरण परिचालन गर्ने तयारी गरेको छ। यसैबीच, पहिरो र माटोले पुरिएको टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर, सेटअप बक्सलगायतका महत्त्वपूर्ण उपकरणहरू सुरक्षित रूपमा निकाल्ने तयारी भइरहेको छ।

भौतिक सडक पहुँच पूर्णरूपमा अवरुद्ध भएकाले ती उपकरणहरू निकाल्न हेलिकोप्टरमार्फत विशेष टोली आयोजनास्थलमा पठाउने तयारी गरिएको छ। उक्त टोलीले पुरिएका संरचना नजिक पुगेर आवश्यक उपकरणहरू सुरक्षित रूपमा बाहिर निकाल्नेछ।

प्रतिकूल मौसम, निरन्तरको पहिरो र बढ्दो नदीको बहावका कारण उद्धार कार्य जोखिमपूर्ण बने पनि सरकारले उच्च सतर्कताका साथ खोज, उद्धार तथा क्षति व्यवस्थापनलाई निरन्तरता दिइरहेको जनाएको छ।