बाढीपीडितलाई धादिङमा ऋषि धमलाको राहतः सांसद आशिका तामाङले गरिन् प्रशंसा


धादिङ । विपत्‌को घडीमा नागरिकको घरदैलोमै पुगेर धादिङको गल्छी र आसपासका क्षेत्रका बाढीपीडितलाई स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरण गरेका छन्। संकटका बेला जनताको आँसु पुछ्न अग्रपंक्तिमा खटिएका धमलाको उक्त परोपकारी कदमको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रशंसा गरेकी छन्।

गल्छीमै पुगेर सांसद तामाङले आफू जन्मिनुभन्दा अघिदेखि नै ऋषि धमलाले जनताको दुःखमा मद्दत गर्दै आएको उल्लेख गर्दै मिडियाले धमलाको परोपकारी कदमलाई उच्च स्थान दिनुपर्ने बताइन् ।

सांसद तामाङले भनिन्, ‘बाढीपहिरोको विपत्तिमा परेका नागरिकको आँसु पुछ्न ऋषि धमलाजी आफैं फिल्डमा खटिनु साँच्चै अनुकरणीय छ,’ उनले भनिन्, ‘धमलाजीको यो उच्च मानवतावादी कदम र सेवाभावबाट सिंगो समाजका अन्य व्यक्तिहरूले पनि ठूलो प्रेरणा लिनुपर्छ। उहाँको यो तत्परताको म मुक्तकण्ठले प्रशंसा गर्छु।’

गल्छी क्षेत्रका विपन्न, अशक्त र संकटमा परेका परिवारहरूलाई धमलाले राहत सामग्री हस्तान्तरण गरेका हुन्। संकटका बेला आफैं राहत बोकेर गाउँमा आइपुगेका धमलालाई देखेर स्थानीय बासिन्दाले समेत खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।

यसैबीच, स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले जनताको सेवा गर्नु नै आफ्नो जीवनको मुख्य ध्येय भएको बताए।

‘जनतालाई दुःख पर्दा चुप लागेर बस्न मेरो मनले मान्दैन। टेलिभिजनमार्फत जनताको आवाज उठाउनु जति मेरो कर्तव्य हो, संकटमा उनीहरूकै घरदैलोमा पुगेर मलम लगाउनु त्योभन्दा ठूलो धर्म हो,’ धमलाले भने, ‘नागरिकको अनुहारमा खुसी ल्याउन पाइयोस्, आगामी दिनमा पनि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत र उद्धारका कार्यक्रमलाई निरन्तरता दिनेछु।’

सांसद तामाङ र ऋषि धमला दुवै जनाले समाजमा सकारात्मक परिवर्तन, सेवा भाव र विपत् व्यवस्थापनका लागि राज्य र नागरिक तहबाट सधैँ हातेमालो हुनुपर्नेमा जोड दिएका छन्।