लक्ष्मीप्रसाद न्यौपाने– मुलुक बाढीको बितण्डामा छ। कतै लासको खोजी भइरहेको छ कतै सासको त कतै गाँसकाे कतै घर परिवार बगेका छन र धेरै नागरिक आफ्ना आफन्त घर फर्केर आउने आशामा बाटो हेरिरहेका छन। यस्तो बेला सरकारको संयन्त्र कति चल्यो, कति चलेन; सरकारले कति गर्यो, कति गर्नुपर्ने थियो । यसको समीक्षा इतिहासले पनि गर्ला, हामीले पनि गरौँला। तर अहिले प्रश्न समीक्षा सुरु गर्नेभन्दा पहिले संकटमा परेका नागरिकलाई कसरी बचाउने भन्ने हो।
सरकार राज्यको संयन्त्र हो । त्यसैले उसको जिम्मेवारीबाट कोही भाग्न मिल्दैन। तर राष्ट्र भनेको सरकारको कार्यालयभित्र मात्र हुँदैन। राष्ट्रमा राजनीतिक दल हुन्छन्, तिनका संगठन हुन्छन्, नेता–कार्यकर्ता हुन्छन्, नागरिक समाज हुन्छ, निजी क्षेत्र हुन्छ, सञ्चारमाध्यम हुन्छ र सबैभन्दा ठूलो कुरा—जनताको आफ्नै शक्ति हुन्छ। त्यसैले आजको संकटमा सरकारलाई मात्र हेरेर बस्ने, सरकारको कमजोरी गन्ने वा सरकारसँग प्रश्न मात्र गर्ने समय होइन। हरेक जिम्मेवार नागरिकले आफूले के गर्न सकिन्छ भनेर आफैंलाई प्रश्न गर्ने समय पनि हो।
जसले वर्षौँदेखि जनताको नाममा राजनीति गरे, परिवर्तनका लागि सडकमा उत्रिए, सत्ता सञ्चालन गरे, आन्दोलनको नेतृत्व गरे, संगठन बनाए, हजारौँ–लाखौँ मानिसलाई आफ्नो झण्डामुनि उभ्याए । आज त्यो जनशक्ति कहाँ छ? कुनै पार्टीको झण्डा बोकेको हात आज उद्धारको डोरी समात्न किन सक्दैन? कुनै संगठनको नाममा सडक भरिने भीड आज विपत्तिमा परेका नागरिकसम्म पुग्न किन सक्दैन? कुनै नेताको आह्वानमा एकै छिनमा हजारौँ हजार जम्मा हुने जनशक्ति आज संकटमा परेका नागरिकको जीवन बचाउने अभियानमा परिचालन हुन किन सक्दैन?
यो सरकारको परीक्षा लिने समय नभर राज्यका हरेक संयन्त्रको परीक्षाकाे समय हो। देशका सम्पूर्ण राजनीतिक दलहरूको परीक्षा हो। यो नेतृत्वको परीक्षा हो। र अन्ततः यो हाम्रो नागरिक चेतनाको पनि परीक्षा हो। तर यो परीक्षा कसले जित्यो र कसले हार्यो भनेर हिसाब गर्ने समय होइन। कसको राजनीति सही र कसको राजनीति गलत भनेर फैसला गर्ने समय पनि होइन। अहिले देशमा एउटै पक्ष रोज्नुपर्ने समय छ । त्यो पक्ष हो संकटमा परेका नागरिक।
त्यसैले सरकार आफ्नो सम्पूर्ण सामर्थ्यका साथ मैदानमा उत्रियोस्। राजनीतिक दलहरू आफ्ना सम्पूर्ण संगठन र जनशक्तिसहित मैदानमा उत्रिऊन्। नेता आफ्नो कार्यकर्तासहित पुगून्। नागरिक समाज जुटोस्। निजी क्षेत्र आफ्नो स्रोतसहित उभियोस्। सञ्चारमाध्यमले सूचना र समन्वयको पुल बनाओस्। जहाँ राज्यको हात पुगेको छैन, त्यहाँ समाजको हात पुग्नुपर्छ। जहाँ उद्धारको टोली पुगेको छैन, त्यहाँ स्वयंसेवी पुग्नुपर्छ। जहाँ आशा कमजोर हुँदैछ, त्यहाँ हामीमध्ये कसैले आशा बनेर उभिनुपर्छ।
बाढीले कसैको पार्टी सोधेर घर बगाएको छैन। पानीले कसैको विचारधारा सोधेर जीवन बगाएको छैन। विपत्तिले कसैको पद, पहुँच, जात, भूगोल वा राजनीतिक आस्था हेरेको छैन। त्यसैले उद्धार पनि कुनै पक्षको हुन सक्दैन।
अहिले न सरकारको पक्षमा उभिनुपर्ने समय हो, न सरकारको विपक्षमा। न कुनै पार्टीको पक्षमा उभिनुपर्ने समय हो, न कुनै पार्टीको विपक्षमा। अहिले जीवन रक्षाकाे पक्षमा उभिनुपर्ने समय हो। नागरिकको पक्षमा उभिनुपर्ने समय हो। मानवताको पक्षमा उभिनुपर्ने समय हो।
इतिहासले हामीले संकटमा परेका मान्छेको हात समात्यौँ कि समातेनौँ त्यो सम्झिनेछ। त्यसैले उठौँ जुटौँ जहाँ छौँ, त्यहीँबाट लागौँ। यो विपत्तिलाई मानवीय शक्ति चाहिएको छ। देशलाई अहिले मैदानमा उत्रिने मानिस चाहिएको छ।
(लेखक लक्ष्मीप्रसाद न्यौपाने आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थी पनि हुन्।)




प्रतिक्रिया