भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता


नवलपुर (नवलपरासी), १४ भदौ । गत बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका दुई वटा वडाका १२ जना नागरिक बेपत्ता भएका छन् । मध्यविन्दु नगरपालिका वडा नम्बर १ र ५ मा घर भई रसुवागढीको टिमुरेमा निर्माणाधीन तेन्जिन शेर्पा हाइड्रोपावर विल्डिङ कन्स्ट्रक्सनमा कार्यरत १२ जना भदौ १० गतेदेखि बेपत्ता भएका नगरपालिकाले जनाएको छ ।

मध्यविन्दुका नगरप्रमुख भीमलाल अधिकारीका अनुसार बेपत्ता नगरवासीको खोजी कार्य भइरहेको भए पनि हालसम्म सम्पर्क हुन सकेको छैन । मध्यविन्दु–१ का तीन जना तथा मध्यविन्दु–५ का नौ जना नगरवासी हराइरहेका उनले जानकारी दिए ।

नगरपालिकाका अन्य नागरिक हराइरहेका हुनसक्ने भन्दै पालिकाले नगरवासी आफन्तसँग जानकारी माग गरेको नगरप्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार मध्यविन्दु–१ का हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालीराम महतो थारु टिमुरेबाट बेपत्ता भएको छ । मध्यविन्दु–५ का जीवन विक, गङ्गाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो उमेश, एकदेव महतो विजय, नुमनारायण महतो, केवलप्रसाद महतो, तेजबहादुर थारु बेपत्ता भएको उनले बताए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बेपत्ता नागरिकको तस्बिरसहितको जानकारी साझा गरिएको भन्दै अधिकारीले हराएका व्यक्ति कहीँकतै कसैको सम्पर्कमा आएमा वा फेला परेमा मध्यविन्दु नगरपालिकाको सचिवालयको नं। ९८४७०७५९३२, ९८५७०४५१९० मा सम्पर्क गर्न अनुरोध गरे ।

यसै क्षेत्रका सङ्घीय सांसद मनिष खनालले भोटेकोशीमा आएको बाढीका कारण मध्यविन्दु–५, बाघखोर र मध्यविन्दु–१ बाट कामको सिलसिलामा रसुवा पुगेका हाम्रा १२ जना नागरिक हालसम्म घट्टेखोला क्षेत्रबाट हराइरहेको भन्दै खोजी कार्य भइरहेको बताए।

उनले मध्यविन्दु नगरप्रमुख, उपप्रमुख, पूर्वप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूसँगै हराइरहेका नागरिकका परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी हराएका नागरिकको पछिल्लो पटक सम्पर्क भएको विषयमा कुराकानी गरेको बताए ।

सांसद खनालले टिमुरेमाथि घट्टेखोला क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग पुनः विशेष पहल र समन्वय गरेको बताए ।