बाढीपीडितको उद्धार र राहतमा जुटिन् समाजसेवी भागीरथा


धादिङ । विनाशकारी बाढीले देशका भौतिक पूर्वाधार र जनजीवन तहसनहस बनाएका बेला राजधानी काठमाडौँसँगै जोडिएको धादिङ, नुवाकोट रसुवाका बस्तीहरूमा भएको प्राकृतिक विपत्तिले देशलाई दशकौँ पछाडि धकेलेको छ । संकटको यस घडीमा पीडितको घाउमा मलम लगाउन नागरिक स्तरका निःस्वार्थ हातहरू अगाडि बढेका छन्। भर्खरै थाइल्यान्डमा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेर फर्किएकी समाजसेवी भागीरथा विष्ट (सुधा कुमार) यतिबेला तिनै बाढीपीडितको सहारा बनेर धादिङका प्रभावित क्षेत्रहरूमा खटिएकी छन्।
भीषण भोटेकोशी बाढीबाट अत्यन्त प्रभावित धादिङका गल्छी, गजुरी गाउँपालिका र बेल्खु क्षेत्रमा पुगेर उनले झन्डै ४०० बाढीपीडितलाई प्रत्यक्ष राहत सामग्री वितरण गरेकी छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले सिर्जना गरेको अपूरणीय क्षतिलाई प्रत्यक्ष नियाल्दै उनी भन्छिन्- ‘धादिङ पुग्दा देश पूरै डुबेको अनुभूति भयो। काठमाडौँबाट यति नजिकै रहेको गल्छीका बासिन्दाले समेत पिउने पानी पाउन सकेका छैनन्। एक तला घरसम्म बालुवा र लेदोले पुरिएका छन्, मोबाइल चार्ज गर्नेसम्मको ठाउँ छैन।’

फर्किने क्रममा पहिरोका कारण सडक अवरुद्ध हुँदा अत्यन्त कठिन यात्रा पार गरेकी विष्टले नुवाकोट र रसुवाजस्ता अन्य क्षेत्रको अवस्था अझ कति भयावह होला भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्। विपत्तिको यो भयानक स्वरूपले देशलाई कम्तीमा दश वर्ष पछाडि धकेलेको निष्कर्ष निकाल्दै उनले राज्यका निकायहरूसँग जोडदार अपिल गरेकी छन्- ‘अहिलेको पहिलो र प्राथमिक दायित्व भनेकै बाँचेकाहरूलाई बचाउनु हो। बेपत्ता भएकाहरूको खोजी र राहतमा सरकारको तीव्र ध्यान जाओस्।’

धादिङको हिलाम्मे सडक र पीडितको आँसु पुछ्न व्यस्त हुनुअघि विष्ट थाइल्यान्डको बैंककमा आयोजित भव्य ‘ग्लोबल एसिया नेपाल एक्सेलेन्ट अवार्ड २०२६’ (Global Asia Nepal Excellent Award 2026) समारोहमा प्रतिष्ठित ‘पावर अफ वुमेन अवार्ड २०२६’ (Power of Women Award 2026) बाट सम्मानित भएकी थिइन्।

जब–जब मुलुकमा ठूला विपत्ति आउँछन्, राज्यका औपचारिक संयन्त्रहरू उद्धार र राहतका सुरुवाती चरणमा प्रायः सुस्त र दिशाहीन देखिन्छन्। यस्तो सङ्क्रमणकालीन समयमा भागीरथाजस्ता निष्ठावान् समाजसेवीहरूको उपस्थितिले भुइँमान्छेलाई बाँच्ने आशा दिने काम गरेको छ।

विपत्तिको यो महासंकटमा राज्यले आफ्ना संयन्त्रहरूलाई अझ द्रुत गतिमा परिचालन गर्नुपर्ने र भागीरथाजस्ता अभियान्ताहरूको सेवाभावबाट प्रेरणा लिँदै प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिनु आजको मुख्य राष्ट्रिय आवश्यकता बनेको छ।