नेपालगञ्ज (बाँके), १५ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही ५० हजार राहत दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको शनिबारको बैठकले बाढीबाट कारण मृत्यु भएका नगरवासीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
नगरपालिकाका अनुसार हालसम्म कोहलपुरका दुई जनाको बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ । कोहलपुर नगरपालिका–११ का कबिलाल थारु र सोही वडाका महेश थारुको बाढीका क्रममा मृत्यु भएको हो ।
कबिलालको शव चितवनमा फेला परेको थियो । उहाँको शव शनिबार कोहलपुर ल्याई अन्त्येष्टि गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । त्यस्तै, महेशको शव कोहलपुर ल्याइएको छ ।
एघार जना अझै सम्पर्कविहीन
बाढीपछि कोहलपुरका ११ जना नागरिक अझै सम्पर्कविहीन रहेको विवरण छ । बेपत्ता भएका व्यक्तिका आफन्तले नगरपालिकालाई उपलब्ध गराएको विवरणका आधारमा उनीहरूको खोजी भइरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।
नगरपालिकाले बेपत्ता नागरिकको खोजीका लागि जनप्रतिनिधि, नगर प्रहरी र परिवारका सदस्य सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ । सोही आधारमा टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खोजी तथा उद्धार कार्यमा आवश्यक समन्वय गर्नेछ ।
नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा गठन गठित टोलीमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायत, वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष श्रीकृष्ण थारुसहित नगर प्रहरी र बेपत्ता नागरिकका परिवारका सदस्य रहने जनाइएको छ ।
खोज, उद्धार र राहतलाई प्राथमिकता
नगर कार्यपालिका बैठकले बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकको खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरेको छ ।
विपद्का कारण उत्पन्न समस्याको तत्काल सम्बोधन गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
बैठकले बाढी तथा विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
बैठकले सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकताका साथ अघि बढाउने र प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय समेत गरेको छ ।
उद्धार कोषमा पारिश्रमिक
नगरकार्यपालिका बैठकले बाढी प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउन जनप्रतिनिधि र कर्मचारीले आर्थिक योगदान गर्ने निर्णय भएको छ ।
जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख आचार्यले जानकारी दिए ।
उक्त रकम विपद् प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले बाढी प्रभावितको खोजी तथा उद्धारसँगै मृतकका परिवारलाई राहत र शव व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढाउने जनाएको छ ।




प्रतिक्रिया