बाढी प्रभावित रसुवा र धादिङमा पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा


काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही सडक सञ्‍चालनमा आएका छन् । मुख्य सडक सञ्चालनमा आइनसकेको अवस्थामा सरकारले ती वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्रै हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेकाले अनावश्यक हवाई उद्धारको माग नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सीमित हवाई साधनलाई आवश्यक काममा मात्रै प्रयोग गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न अनुरोध गरिएको हो।

प्राधिकरणले हाल रसुवार धादिङ जोड्ने वैकल्पिक मागहरू सार्वजनिक गरेको छ । जसअनुसार रसुवा जानका लागि नुवाकोटको विदुर-ढिकुरे-चौघडा-आप्र-नर्जा-लच्याङ-सरमर्थाले-पाटीखर्क- हुँदै बोगटीटार (पासाङ ल्याह्मु मार्ग रसुवा)-कालिकास्थान-धुन्चे पुग्न सकिनेछ । यो सडकमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा आएका छन् ।

धादिङतर्फ जाने यात्रुका लागि धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेँसीटार हुँदै मास्टर (ग्रामीण सडक) बाट पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएकाे छ ।

प्राधिकरणले विपद्को अवस्थामा अत्यावश्यकबाहेकका यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहज बनाउन सहयोग गरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ।