भोटेकोशी बाढी: ५४४ सवारी साधन क्षतिग्रस्त, पाँच सयभन्दा बढी मजदुर सम्पर्कविहीन


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारीसाधन क्षतिग्रस्त भएका छन्। बाढीका कारण ५०१ जना मजदुर सम्पर्कविहीन भएका छन् भने एक जनाको मृत्यु पुष्टि भएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार बाढीबाट कुल ५६३ जना श्रमिक प्रत्यक्ष प्रभावित भएका छन्। हालसम्म १७ जना मजदुर मात्र सम्पर्कमा आएका छन्। संगठनका अध्यक्ष भीमज्वाला राईले पारिवारीक सम्पर्क र सदस्यहरूको विवरणका आधारमा प्रारम्भिक तथ्यांक संकलन गरिएको जानकारी दिए।

“खोज तथा उद्धारका लागि हाम्रा टोलीहरू परिचालित भए पनि अहिलेसम्म अपेक्षित प्रगति हुन सकेको छैन,” अध्यक्ष राईले भने, “सम्पर्कविहीन श्रमिकको संख्या अझै बढ्न सक्ने भएकाले तत्काल खोजी, राहत, क्षतिको यथार्थ अभिलेखीकरण र दीर्घकालीन पुनःस्थापनामा ध्यान दिनुपर्छ।”

यसैबीच, पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूसमेत ठूलो संख्यामा बेपत्ता भएका छन्। पर्यटन क्षेत्रमा कार्यरत ९३ जना सदस्य हालसम्म सम्पर्कविहीन छन्। अन्य व्यक्तिहरूको अवस्थासमेत यकिन हुन सकेको छैन।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले नेपाली यातायात मजदुरको अवस्था भयावह बनेको उल्लेख गर्दै खोजी तथा उद्धारका लागि सरकारी तथा गैरसरकारी सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

बाढीबाट प्रभावित मजदुरहरूको खोजी, उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) ले समेत समन्वय थालेको छ। नेपालका यातायात मजदुर संगठनहरू (नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघ) सँग भएको भर्चुअल बैठकमा आईटीएफका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाएका हुन्।

बैठकमा आईटीएफ वर्ल्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले प्रभावित श्रमिकको पहिचान, उद्धार र दीर्घकालीन राहतका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आईटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई पीडित श्रमिकका लागि तत्काल आवश्यक सहायता योजना तयार पार्न निर्देशनसमेत दिएका छन्।