राहत कोषको रकम तत्काल प्रभावित क्षेत्रमा पठाउन अर्थमन्त्री डा. वाग्लेको निर्देशन


काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम प्रक्रियागत ढिलाइ नगरी तत्काल प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका छन्। नागरिकले सरकारप्रति विश्वास गरेर कोषमा जम्मा गरेको रकमको पूर्ण र शीघ्र सदुपयोग हुनुपर्नेमा उनले जोड दिएका छन्।

आज आयोजित एक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अत्यधिक प्रशासनिक झन्झटका कारण राहत रकम निकासा तथा प्रभावित क्षेत्रसम्म पुर्‍याउन ढिलाइ भइरहेको बताए।

“प्रभावित क्षेत्रका पालिकालाई रकम पठाउने सन्दर्भमा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण गर्दा ढिलाइ भएको छ,” अर्थमन्त्री वाग्लेले भने, “हामीसँग कार्यविधि र संयन्त्र उपलब्ध छ। कानुनले नमिल्ने काम गर्न भएन, तर मिल्ने कुरामा ढिला नगरी काम छिटो गरौँ। मेयर वा प्रमुख जिल्ला अधिकारीबाट औपचारिकता दिने काम हुँदै गर्छ, पैसा भने तुरुन्त पठाइहालौँ।”

राहत कोषमा रकम थुप्रिए पनि प्रभावित क्षेत्रमा पुग्न नसकेको भन्ने नकारात्मक जनधारणा बन्दै गएको प्रति सजग गराउँदै अर्थमन्त्री वाग्लेले उद्धार कोषबाटै तुरुन्त रकम पठाउँदा जनतामा सकारात्मक सन्देश जाने बताए।

सरकारले रकम दुरुपयोग गर्दैन र पीडितसम्म पुर्‍याउँछ भन्ने विश्वासका कारण नै सर्वसाधारणले राहत कोषमा रकम जम्मा गरिरहेकाले वितरण प्रणालीलाई चुस्त बनाउनुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले राहत रकम निकासासम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया आजैका मितिबाट अघि बढाउन मुख्यसचिवलाई समेत कडा निर्देशन दिएका छन्।