नेपालगञ्ज (बाँके), १५ भदौ । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ । मेरी कान्छी बाँच्यो होला कि नहोला ?”
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ राजपुरकी ८३ वर्षीया खीमादेवी पुनमगरको आँखामा अहिले यही प्रश्न घुमिरहन्छ। चाउरी परेको अनुहार, धमिलिँदै गएको आँखामा टिलपिलाएका आँशु र हातमा पटुकाको फेरो। त्यही फेरोले आँशु पुछ्दै उनी रसुवाको चीन सीमा नजिक खाजा पसल सञ्चालन गर्दै आएकी कान्छी छोरी एकमाया पुन मगर (केसी) लाई सम्झिन्छिन्।
“छोरीले तिहारमा आउँछु भनेकी थिई। घर आउँछु भनेर फोन गरेकी छोरी आज कहाँ छे, के अवस्थामा छे भन्ने थाहा छैन”, खिमादेवीले भक्कानिँदै भनिन्, “छोरी जीउँदै फर्केर आओस्, मलाई यत्ति चाहिएको छ।”
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएपछि खीमादेवीको मनमा छोरीको चिन्ताले घर गरेको छ। भदौ १० गते बाढीले सबै बगाएर बगर बनाएको खबर उनले माइली बुहारी तिलाकुमारी पुनमगरबाट सुनेकी थिइन्।
बुहारीले मोबाइलमा बाढीको भिडियो देखाएपछि उनको मन झनै अत्तालियो। त्यसयता उनको आँखाले छोरी आउने बाटो कुरिरहेको छ। कानले छोरीको आवाज सुन्न खोजिरहेको छ। तर फोनको घण्टी बज्दैन। खबर आउँदैन। आउने हरेक सूचनाले आशाभन्दा बढी डर दिएको छ। “मलाई केही चाहिँदैन”, खीमादेवीले आँशु पुछ्दै भनिन्, “मेरी छोरी फर्केर आओस्। उसले फोनमा भने जस्तै तिहारमा घर आओस्। म उसलाई आफ्नै आँखाले देख्न पाऊँ।”
४४ वर्षीया एकमाया विगत पाँच वर्षदेखि रसुवामा खाजाको पसल सञ्चालन गर्दै आएकी थिइन् । श्रीमान प्रकाश केसीसँग करिब १२ वर्षअघि कामको सिलसिलामा काठमाडौं पुगेकी उनले पछि रसुवामा व्यवसाय सुरु गरेकी थिइन्। दुई छोराकी आमा एकमायाको पसलमा आफ्नै आफन्त काम गर्न पुगेका थिए।
बाढीपछि एकमाया पनि अन्य व्यक्ति जस्तै सम्पर्कविहीन भइन्। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको बेपत्ताको विवरणमा उनको नाम समावेश भयो। तर त्यसको केही समयपछि उनको शव तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पूर्वबेंसी भन्ने स्थानमा भदौ ११ गते फेला परेको सरकारी विवरण सार्वजनिक भयो।
तर, परिवारका लागि त्यो विवरणले अझै निश्चितता दिएको छैन। परिवारका सदस्यले त्यसलाई स्वीकार गर्न सकेका छैनन्। आमाको मनले त झन छोरीको मृत्यु भएको मान्न सकेको छैन। “मेरी छोरी नै हो भनेर म कसरी मानुँ ? उसले त घर आउँछु भनेर फोन गरेकी थिई”, खिमादेवीले भनिन्, “मेरी छोरी कतै बाँचेर बसेकी पो छ कि ? एक पटक आएर आमा भनेर बोलाइ दिए पुग्छ।”
एकमायासँगै कामको सिलसिलामा रसुवा पुगेका उनकै भतिजी जानकी घर्तीमगर र भतिज सेतुनाथ योगी पनि बाढीपछि बेपत्ता छन्। बेरोजगार रहेका आफन्तलाई रोजगारीसँगै साथ समेत हुने भन्दै एकमायाले आफ्नै खाजा पसलमा काम गर्ने अवसर दिएकी थिइन्। तर रोजगारीको खोजीमा रसुवा पुगेका उनीहरूको परिवार अहिले एक–एक फोन र एक–एक खबरको प्रतीक्षामा छ।
राजपुर निवासी तिलक घर्तीमगरकी छोरी जानकी घर्तीमगर पनि अहिले बेपत्ताको सूचीमा छिन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै दलालले पाँच लाख रुपैंयाँ ठगेपछि सहकारीबाट लिएको ऋण तिर्नुपर्ने भएपछि जानकी एकमायाको पसलमा काम गर्न गएकी थिइन्। छोरीलाई रसुवा नजान आग्रह गरेको सम्झना गर्दै तिलकका आँखा रसाए।
“मैले छोरीलाई फर्क, त्यहाँ काम गर्न पर्दैन भनेको थिएँ। बरु म यहाँ विद्युतीय रिक्सा किनिदिन्छु भनेको थिएँ”, उनले भने, “तर उसले मानिन। ‘हैन बुवा, म यतै काम सिक्छु, पछि आफ्नै व्यवसाय गर्छु भन्थी ।” छोरीप्रति गर्व गर्दै उनले थपे, “उ हाम्रो घरको छोरी होइन, छोरा थिई।” छोरी बेपत्ता भएपछि भने त्यही घरमा अहिले सन्नाटा छ। खबर आउने आशामा परिवारको दिन बितिरहेको छ।
“आजसम्म छोरीको कुनै खबर आएको छैन। मन आत्तिएको छ”, तिलकले रुँदै भने, “जिउँदै छे जस्तो पनि लाग्छ, छैन जस्तो पनि लाग्छ। उसलाई केही भयो भने हामी कसरी बाँच्ने ?” तर शोकले घेरिए पनि तिलकको मनले छोरी फर्कने आशा छाडेको छैन। सरकारी खोजीबाट कुनै सकारात्मक खबर आउने र ढिलोचाँडो छोरी घर फर्कने विश्वासमा परिवार बसिरहेको छ।
जानकीसँगै काम गर्न रसुवा पुगेका राजपुरकै ४७ वर्षीय सेतुनाथ योगीको परिवार पनि अहिले यस्तै आशामा छ। दश महिनाअघि कामका लागि रसुवा पुगेका सेतुनाथका घरमा श्रीमती टीका योगी र दुई साना छोरा छन्। ३० वर्षीया टीका अहिले दुई छोराको अनुहार हेर्दै श्रीमानको बाटो कुरिरहेकी छन्। “मेरा श्रीमानलाई केही भयो भने मैले यी साना बाबुलाई कसरी हुर्काउने ?” टीकाले रुँदै भनिन्, “उहाँ बाँचेर घाइते भएर मात्रै भए पनि फर्केर आउनु भयो भने म सबै सम्पत्ति बेचेर भए पनि उपचार गराउँथें । मलाई उहाँ घर फर्किनु भएको हेर्नु छ।”
बाढी आउनुभन्दा एक दिनअघि साँझ ५ बजे सेतुनाथले परिवारका सबै सदस्यसँग फोनमा कुरा गरेका थिए । आफू सुरक्षित रहेको र दसैंमा घर आउने बताएका थिए। त्यो फोन अहिले टीकाको मनमा बारम्बार दोहोरिन्छ।
“उहाँले दसैंमा घर आउँछु भन्नु भएको थियो । त्यो आवाज अझै कानमा गुन्जिरहेको छ”, टीकाले भनिन्, “दसैं आउँदा उहाँ साँच्चिकै घर फर्किनु हुन्छ कि भन्ने आशा छ।” सेतुनाथका ७६ वर्षीय बुवा हीरानाथ योगीका लागि छोरा बुढेसकालको सहारा थिए। छोरा बेपत्ता भएको खबरपछि उनको अवस्था झनै कमजोर बनेको छ।
“मेरो बुढेसकालको सहारा थियो मेरो छोरो। के भयो नि यस्तो ?” हिरानाथले भक्कानिँदै भने, “मेरो छोरो बाँचेर आइदिए हुन्थ्यो। मेरो यति मात्र चाहना हो।” उनका लागि अहिले धनसम्पत्ति, घरव्यवहार वा अन्य कुनै कुरा महत्त्वपूर्ण छैन। बाँचेर छोरा फर्किए पुग्छ। “छोरो घरको ढोकामा आइपुगेको हेर्न पाएँ भने अरू केही चाहिँदैन”, उनले भने।
रसुवाको भोटेकोशी बाढीले राजपुरका अर्का २३ वर्षीय सुरेश विकलाई परिवारबाट टाढा बनाएको छ। भारतको हिमाचल प्रदेशमा बस्दै आएका सुरेश गाडीको लाइसेन्स बनाउने प्रक्रियाका लागि नेपाल आएका थिए। लाइसेन्सको प्रक्रिया पूरा हुन समय लागेपछि रसुवामा चिनियाँ सामान ओसारपसार गरी व्यापार गर्ने भन्दै उनलाई बोलाइएको थियो।
सुरेशकी काकी पवित्रा विकका अनुसार उनले बाढी आउनुभन्दा एक दिनअघि अर्थात् भदौ ९ गते साँझ परिवारसँग फोनमा कुरा गरेका थिए। “सुरेशले फोन गरेर काम राम्रै चलेको छ भनेको थियो । दसैंमा घर आउँछु भनेको थियो”, पवित्राले भनिन्, “त्यसपछि एकाएक बाढी आएको खबर आयो। अहिले उसको फोन आउँदैन।”
फोन नआए पनि परिवारले प्रतीक्षा गर्न छाडेको छैन। “हामीलाई अझै पनि सुरेश कतै सुरक्षित छ कि भन्ने आशा छ”, उनले भनिन्, “कुनै ठाउँमा उद्धार भएर बसेको भए एक पटक खबर गरिदिए पनि हाम्रो मन शान्त हुन्थ्यो।”
बाढीले घर, पसल, सडक र सम्पत्ति मात्र बगाएको छैन, धेरै परिवारको जीवनको भरोसा र भविष्य समेत अनिश्चित बनाएको छ। रसुवाको घटनापछि बाँकेका परिवारमा आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डर एकसाथ छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्कअनुसार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बाँकेसँग सम्बन्धित २७ जना बेपत्ता भएका छन्। उनीहरूको परिवार अहिले सरकारी खोजी र उद्धार टोलीबाट आउने खबरको प्रतीक्षामा छन्।
प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले अकल्पनीय धनजनको क्षति पु¥याएको बताउँदै बेपत्ता व्यक्तिहरूको फोटोसहितको प्रोफाइल तयार गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।
तर सरकारी तथ्याङ्कमा नाम चढ्नु र परिवारको मनले आफन्तलाई गुमाउनु एउटै कुरा होइन। आफन्त बेपत्ता हुँदासम्म परिवारले अन्तिम सत्य स्वीकार गर्न चाहँदैन। एउटा फोन, एउटा सन्देश वा उद्धारकर्ताको एउटा सकारात्मक खबरले उनीहरूको आशालाई फेरि बलियो बनाइदिन्छ।
खीमादेवीको घरमा पनि त्यही आशा बाँकी छ। तिलक घर्तीमगर छोरीको बाटो हेरिरहेका छन्। टीका योगी दुई साना छोरालाई काखमा च्यापेर श्रीमान फर्कने प्रार्थना गरिरहेकी छन्। हिरानाथ योगी बुढेसकालको सहारा फर्केर आउने सपना देखिरहेका छन्। पवित्रा विक सुरेशको फोन आउने प्रतीक्षामा छिन्। RSS




प्रतिक्रिया