कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले वर्षाैँसम्म ठेक्का सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताएका छन्।
धनगढीमा साेमबार सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले ठेक्का सुरु गर्ने तर वर्षाैँसम्म अलपत्र पार्ने प्रवृत्ति विकासको बाधक भएको बताए। उनले क्रमागत तथा बहुवर्षीय ठेक्कालाई आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढाइने बताए।
प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागेर पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले आयोजना कार्यान्वयनपूर्वका तयारी, सुरक्षा तथा अन्य व्यवस्थापनका काम सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता समस्या समाधान भए निर्माण कार्यले गति लिने उनको भनाइ थियो।
मुख्यमन्त्री भट्टले निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी समस्या समाधान गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै निर्माण व्यवसायीहरूले सम्झौताअनुसारका काम समयमै सम्पन्न गर्न तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
प्रदेश सरकारले लामो समयदेखि अड्किएर रहेका सडक तथा अन्य पूर्वाधार आयोजनालाई तदारुकताका साथ अघि बढाउने संकल्प गरिसकेको बताउँदै मुख्यमन्त्री भट्टले अब निर्माण कार्यलाई निश्चित गति र परिणाममुखी ढङ्गले अघि बढाउनुपर्ने बताए। उनले प्रदेशको विकास निर्माणलाई प्रभावकारी बनाउन सरकार र निर्माण व्यवसायीबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए। रासस




प्रतिक्रिया