ट्रम्पका ‘ड्रोन म्यान’ले दिए राजीनामा


वाशिङटन डीसी । अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री पिट हेगसेथसँग महिनौँदेखि जारी विवाद र तनावपछि उनले पदबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यम सीबीएसले जनाएको छ ।

४१ वर्षीय ड्रिस्कोल अमेरिकी सेनाको इतिहासमा सबैभन्दा कम उमेरमा सचिव बनेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा उनलाई उदीयमान सैन्य प्रविधि तथा ड्रोनको प्रयोगलाई प्राथमिकता दिने अधिकारीका रूपमा चिनिन्थ्यो ।

ड्रिस्कोलले ट्रम्पको मेक अमेरिका स्ट्रङ अगेन अभियान अघि बढाउन प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको ह्वाइट हाउसले जनाएको छ । ड्रिस्कोल र हेगसेथबीचको विवादको विस्तृत कारण भने सार्वजनिक भएको छैन । सीबीएसका अनुसार ड्रिस्कोल अमेरिकी सेनाका पूर्वप्रमुख र्‍यान्डी जर्जका निकट मित्र हुन् । जर्जलाई पनि हेगसेथले राजीनामा दिन दबाब दिएको बताइएको छ ।

ड्रिस्कोलको राजीनामा अमेरिकी सेनाका उच्च तहका अधिकारीहरूको पछिल्लो श्रृंखलाबद्ध बहिर्गमनमध्ये एक हो । यसअघि अप्रिलमा नौसेनाका सचिव जोन फेलनले अचानक पद छाडेका थिए । सेनाका प्रमुख र्‍यान्डी जर्ज, अमेरिकी सेनाका जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रिन पनि पछिल्लो समय जिम्मेवारीबाट बाहिरिएका छन् । हेगसेथले पेन्टागनको नेतृत्व सम्हालेयता नौसेना सञ्चालन प्रमुख र वायुसेनाका उपप्रमुखसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाइसकेका छन् ।

ड्रिस्कोलले यसअघि अमेरिकी सेनामा अधिकारीका रूपमा सेवा गरेका थिए । सन् २००७ मा सेनामा प्रवेश गरेका उनले क्याभलरी प्लाटुनको नेतृत्व गर्नुका साथै सन् २००९ मा केही महिना इराकमा समेत सेवा गरेका थिए । सेना सचिव बनेपछि उनी युद्धमा प्रयोग हुने नयाँ प्रविधि र ड्रोनको पक्षमा खुलेर लागेका कारण ट्रम्पका ड्रोनसम्बन्धी प्रमुख सहयोगीका रूपमा चर्चित बने । यसैले उनलाई ट्रम्पका ड्रोनम्यान समेत भनिन्थ्यो ।रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले भएका वार्तामा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । यसक्रममा ड्रिस्कोलले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । ड्रिस्कोल अमेरिकी उपराष्ट्रपति जेडी भेन्सका निकट साथी हुन् । दुवैको भेट येल कानुन विद्यालयमा अध्ययन गर्ने क्रममा भएको थियो । एजेन्सी