काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीका कारण हालसम्म ९८७ जनाको ज्यान गएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म उद्धार टोलीले विभिन्न जिल्लाबाट ९८७ वटा शव फेला पारेको छ।
प्राधिकरणको अद्यावधिक तथ्याङ्कअनुसार बाढीको तीव्र बहावले बगाएर पुर्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३२१ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१६ वटा भेटिएका छन्। चितवनमा भेटिएका शवहरूमा मानव अङ्गहरूसमेत समावेश रहेका छन्। यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
विपद्पछि ठूलो सङ्ख्यामा मानिसहरू अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार ३ हजार ९१६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा उद्धार तथा सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवानका साथै विभिन्न जलविद्युत् आयोजना र भन्सार कार्यालयका कर्मचारीहरू रहेका छन्। बेपत्ता हुनेहरूमध्ये ५८३ जना विदेशी नागरिक र विदेशी पर्यटकसँगै भ्रमणमा गएका १६४ जना नेपाली नागरिक रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा निरन्तर चलाइएको खोज तथा उद्धार अभियानमार्फत हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा परी २७९ जना घाइते भएकामा १६८ जना उपचारपछि घर फर्किसकेका छन्। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
गत भदौ १० गते बिहान तिब्बततर्फबाट भोटेकोसीमा एकाएक आएको अभूतपूर्व बाढीले रसुवा, नुवाकोटलगायत तटीय क्षेत्रका जिल्लाहरूमा जनधनको व्यापक क्षति पुर्याएको थियो।




प्रतिक्रिया