टर्किए, साउदी अरब र पाकिस्तानबीच पहिलो संयुक्त रक्षा समितिको बैठक सम्पन्न


काठमाडौं । साउदी अरब र पाकिस्तानका शिर्ष कुटनीतिज्ञ तथा रक्षा प्रमुखहरूबीच सोमवार इस्तानबुलमा पहिलो संयुक्त रक्षा समितिको बैठक सम्पन्न भएको छ । हालै हस्ताक्षरित ‘मक्का संयुक्त रक्षा सम्झौता’ अन्तर्गत यो समितिको औपचारिक बैठक आह्वान गरिएको हो ।

इस्तानबुलस्थित बोस्फोरस जलसन्धको किनारमा रहेको सिरागन प्यालेसमा ‘रणनीतिक राजनीतिक तथा रक्षा समिति’ को बैठक बन्द कोठामा आयोजना गरिएको थियो ।

मुख्य बैठकको साथसाथै तीनै देशका प्रतिनिधिहरूबीच छुट्टाछुट्टै द्विपक्षीय वार्ताहरू समेत सम्पन्न भएका छन् ।

टर्किएका परराष्ट्र मन्त्रालयका स्रोतहरूकाअनुसार उक्त बैठकमा अन्तर्राष्ट्रिय सुरक्षाका मुद्दाहरू, रक्षा उद्योगमा सहकार्य र सैन्य अन्तरसञ्चालनका विषयमा विस्तृत छलफल भएको थियो । यसका साथै संयुक्त सैन्य उत्पादन, अनुसन्धान तथा विकास र आतंकवाद नियन्त्रणमा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा समेत सहमति भएको बताइएको छ ।

यो ऐतिहासिक रक्षा सम्झौतामा गत साउन २३ (अगस्ट ७) गते मक्कामा साउदी राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले हस्ताक्षर गरेका थिए ।

बढ्दो क्षेत्रीय र विश्वव्यापी अस्थिरताका बीच तीन देशको साझा रक्षा संयन्त्रलाई सुदृढ बनाउनु यस सम्झौताको मुख्य लक्ष्य रहेको छ ।

सम्झौताको प्रमुख प्रावधान अनुसार, हस्ताक्षरकर्ता कुनैपनि एक देशमाथि हुने वाह्य आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिने र सोहीअनुसार सामूहिक प्रतिरोध गरिने उल्लेख छ ।