रूसमा ११औँ पूर्वी आर्थिक मञ्चको उद्घाटन


भ्लादिभोस्तोक (रूस), १६ भदौ । रूसको ठुलो र स्रोत–साधनले भरिपूर्ण सुदूर पूर्वी क्षेत्र तथा बाँकी विश्वबीचको सम्बन्ध सुदृढ पार्न सहकार्य र लगानीबारे छलफल गर्न पाँच हजार भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा मङ्गलबार ११औँ पूर्वी आर्थिक मञ्चको उद्घाटन भएको छ ।

“सुदूर पूर्वः जनताको हितका लागि विकास” भन्ने नाराका साथ आयोजित चार दिने यस वार्षिक कार्यक्रममा ८० वटा देशका सरकारी अधिकारी, व्यवसायी, विज्ञ र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको जनाइएको छ ।

करीव एक सय भन्दा बढी सत्रहरू समावेश गरिएको यस कार्यक्रमको कार्यसूचीमा लगानी, विज्ञान तथा प्रविधिको प्रयोग,  पूर्वाधार, र एसिया–प्रशान्त क्षेत्रमा सहकार्य जस्ता विषयहरू समेटिएका छन् ।

कार्यक्रमको स्वागत मन्तव्यका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस मञ्चलाई व्यावसायिक क्षेत्र, सरकारी निकाय र विज्ञहरूबीच खुला तथा रचनात्मक संवादको माध्यामको रूपमा वर्णन गरेको छ । 

यस मञ्चले रूस र रूसका एसिया–प्रशान्त क्षेत्रका साझेदारहरूका लागि उद्योग र ऊर्जा क्षेत्रमा सम्बन्ध अघि बढाउने अवसरहरू पनि सिर्जना गरेको उनले बताएको छ ।

राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार, राष्ट्रपति पुटिनले यस मञ्चमा पूर्ण सहभागिता जनाउनुका साथै बिहीबार हुने पूर्ण सत्रलाईसमेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रासस