भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै


बाँके १७ भदौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ ।

सङ्घका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्घका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट पाँच लाख ६० हजार सङ्कलन गरिएको जानकारी दिए । उनले बाढीपीडितलाई सहयोग गर्नु तत्कालको पहिलो दायित्व भएको जनाउँदै नवनिर्वाचित पदाधिकारीबाट सङ्कलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने बताए ।

नौबस्ता कैदी बन्दीको सहयोग

यसैबीच बाँकेको नौबस्ता कारागारमा रहेका ४६६ जना कैदीबन्दीले ४९ हजार ५१० सहयोग गरेका छन् ।

कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । विपत्को समयमा आफूहरू पनि प्रभावित नागरिकको पीडामा साथ दिन चाहेको भन्दै बन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ ।

नौबस्ता कारागारका निमित्त प्रमुख ज्ञानबहादुर ओलीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरेको बताए । सो रकम सङ्कलन गर्नुअघि बन्दीले बाढीमा परी ज्यान गुमाउनेप्रति सामूहिक रूपमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको उनले जानकारी दिए ।