काठमाडौँ । नेपालमा आएको बाढीको असर बिहारका नदीहरूमा देखिन थालेको छ।
गण्डकसहितका विभिन्न जलस्रोतहरूमा बाढीको तीव्र बहावका साथ ठुलो सङ्ख्यामा माछाहरू बगेर आएका छन्। यसैबिच बिहारको मत्स्य निर्देशनालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
निर्देशनालयले बाढीको पानीसँगै बगेर आएका माछाहरू हालका लागि नखान अपिल गरेको छ। जलप्रलयका क्रममा नदीको पानीमा मरेका जीवजन्तु, लेदो, फोहोर र अन्य जैविक अवशेषहरू मिसिएकाले माछा दूषित भएको हुन सक्ने आशङ्का गरिएको छ।
नेपालमा परेको भारी वर्षा र बाढीपछि गण्डक नदीमा माछाका साथै पशुहरू र अन्य जैविक अवशेषहरू बगेर आएका खबरहरू सार्वजनिक भएका छन्। बिहारका गण्डक किनारमा रहेका कैयौँ क्षेत्रमा नदी वरपर शवहरूसमेत देखिएको सूचना छ। यस्तो अवस्थामा नदीको पानीको गुणस्तर प्रभावित भएको र सोही कारण माछाको गुणस्तरमा समेत असर परेको मत्स्य निर्देशनालयको भनाइ छ।
मत्स्य निर्देशनालयले बाढीको पानीसँगै सिधै नदी र जलस्रोतहरूमा आइपुगेका माछाहरूका विषयमा विशेष सतर्क रहन भनेको छ। बाहिरबाट हेर्दा स्वस्थ देखिने माछा पनि दूषित हुन सक्ने भएकाले परीक्षणविना त्यसको सेवन सुरक्षित मानिएको छैन। विशेष गरी नदीबाट सिधै समातिएका र बाढीसँगै बगेर आएका माछाका विषयमा अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढीको पानीसँगै ठुलो सङ्ख्यामा अस्वाभाविक आकारका माछाहरू समेत बगेर आएका छन्। अचानक माछाको उपलब्धता बढेपछि केही क्षेत्रका बजारहरूसम्म ती माछा पुगेको खबर छ। परीक्षणविना त्यस्ता माछा बजारमा पुगेर मानिसहरूले उपभोग गरेमा खाद्य सुरक्षामा गम्भीर प्रश्न उठ्ने भएकाले विभागले चिन्ता व्यक्त गरेको छ।
यस स्थितिीलाई ध्यानमा राख्दै मत्स्य निर्देशनालयले सूचना तथा जनसम्पर्क निर्देशनालयलाई पत्र लेख्दै मानिसहरूलाई जागरूक बनाउन अपील गरेको छ। बाढीको पानीसँगै आएका माछाको सेवनका विषयमा मानिसहरूसम्म स्पष्ट चेतावनी पुर्याउन विभागले चाहेको छ।
मत्स्य निर्देशनालयले माझी र सर्वसाधारणलाई बाढीको पानीबाट सिधै समातिएका माछाको खरिद-बिक्रीमा सावधानी अपनाउन र विभागीय निर्देशको पालन गर्न आग्रह गरेको छ। हालका लागि बाढीको पानीसँगै आएका माछा उपभोगमा हतार नगर्न र परीक्षणविना सेवन नगर्न विभागको सन्देश छ। एजेन्सी




प्रतिक्रिया