काठमाडौँ, १७ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उनले सङ्कटको समयमा सरकार जनताको साथमा हुनुपर्ने बताए ।
“भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनारिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ”, संयोजक दाहालले भने, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन गर्नुपर्छ ।” उनले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई पनि विपद्को अवस्थामा थप क्रियाशील बनाइनुपर्नेमा जोड दिए।
विसं २०७२ को भूकम्पलगायत राष्ट्रिय सङ्कटको घडीमा विपक्षीका रूपमा आफूहरूले सरकारलाई साथ दिएको स्मरण गर्दै संयोजक दाहालले बाढीपश्चात खोज, उद्धार र राहत वितरणमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताए।
“बाढीपछिको उद्धारमा कमिकमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ, राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनःनिर्माणमा सरकारका गम्भीर बन्नुपर्छ”, संयोजक दाहालले भने, “राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने सरकारलाई अवसर छ, यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्छ ।”
संयोजक दाहालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया