ग्यास अभाव हुन नदिन निगम र विक्रेताहरूबीच ६ बुँदे सहमति


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि फेरि ग्यास अभाव भएकाे छ ।

कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा बिहानदेखि ग्यास लिन उपभोक्ताको लाम लाागेको छ । अन्य विक्री डिपोहरूमा पनि उपभोक्ताहरूको भिड बाक्लिएको छ ।

यसैबीच ठप्प भएको ग्यास आपूर्ति र वितरणलाई सहजीकरण गर्न आयल निगम र ग्यास विक्रेताहरूले ६ बुँदे निर्णय गरेका छन् ।

नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालसहित ग्यास विक्रेता महासंघ नेपाल र ग्यास विक्रेता संघ काठमाडौंका पदाधिकारीको बैठकमा ती सहमति गरिएका हुन् ।

काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगहरूलाई तराईका उद्योगहरूबाटै सिलिण्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने छन् । व्यवसायिक प्रयोजन (ठूला होटल तथा रेस्टुरेन्ट, खाद्य उद्योग, औद्योगिक कारखाना, व्यापारिक मल) बिक्री वितरण रोकी अति आवश्यक उपभोक्तालाई उपलब्ध गराउने पनि निर्णय गरिएको छ ।

विद्यार्थी, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम तथा बाढी प्रभावितका लागि सञ्चालन गरिएका सेल्टरलाई प्राथमिकतामा राख्नुपर्ने छ ।