धादिङका बाढी प्रभावितलाई एमआरआर र जेनजी चितवनको राहत


धादिङ । गल्छी र गजुरी गाउँपालिकाका बाढीपहिरो प्रभावित बस्तीका १७२ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। एमआरआर र जेनजी चितवनको संयुक्त पहलमा प्रभावित क्षेत्रमै पुगेर राहत हस्तान्तरण गरिएको हो।

विपद्का कारण समस्यामा परेका नागरिकलाई विभिन्न क्षेत्रबाट संकलित सहयोगमार्फत खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री व्यवस्थापन गरी वितरण गरिएको आयोजकले जनाएका छन्।

जेनजी चितवनका अध्यक्ष आशिष सापकोटाका अनुसार विपद्को घडीमा प्रभावित नागरिकको मनोबल बढाउन र तत्काल सहयोग पुर्‍याउन टोली निरन्तर प्रभावित क्षेत्रमा खटिरहेको छ। ‘संकटको बेला प्रभावित परिवारलाई हिम्मत नहार्न र एक–अर्काको साथमा रहन आग्रह गर्दै हामी मैदानमा ओर्लिएका हौँ,’ अध्यक्ष सापकोटाले भने, ‘अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण दाता, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दछौँ।’

टोलीले आगामी दिनमा पनि धादिङसहित प्रभावित अन्य जिल्लाका प्रभावित परिवारसम्म राहत सामग्री पुर्‍याउने कार्यलाई निरन्तरता दिने जनाएको छ।