काठमाडौं । रसुवामा आएकाे बाढीपछि भएकाे जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गरेको छ। पार्टीले विपत्तिमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
पार्टीका कार्यवाहक महासचिव जनकबहादुर कार्कीले जारी गरेको वक्तव्यमा राज्यले उद्धार तथा राहतका लागि पहल गरे पनि विपत्तिको गम्भीरता र प्रभावित नागरिकको आवश्यकताअनुसार तत्परता, समन्वय र प्रभावकारिता पर्याप्त हुन नसकेको उल्लेख गरिएको छ।
विपद्को समयमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै पार्टीले राज्यका सबै संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा स्वयंसेवी समूहलाई तत्काल परिचालन गर्नुपर्नेमा जोड दिएको छ। प्रभावकारी समन्वय र परिचालनको अभावमा अझै पनि धेरै नागरिक पीडा, भोक, विस्थापन र असुरक्षाबीच बस्न बाध्य भएको पार्टीले जनाएकाे छ ।
पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै समयमै उद्धार तथा राहत पुग्न सके थप मानवीय क्षति रोक्न सकिने प्रभावित नागरिकको अनुभूतिलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।
नुवाकोटमा राहत सामग्री हस्तान्तरण

नेपाल संघीय समाजवादी पार्टीले राजनीतिक जिम्मेवारीसँगै मानवीय दायित्वलाई प्राथमिकतामा राख्दै देशभर राहत संकलन तथा वितरण अभियान सञ्चालन गरिरहेको जनाएको छ।
पार्टीका कार्यवाहक महासचिव जनकबहादुर कार्कीको नेतृत्वमा राहत सामग्री नुवाकोट जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि पठाएर हस्तान्तरण गरिएको हाे । नुवाकोटको जनजाति माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टर तथा विदुर नगरपालिकास्थित जिल्ला समन्वय समितिका पदाधिकारीहरूको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको पार्टीले जनाएको छ।

राहत हस्तान्तरण कार्यक्रममा पार्टीका विजय डंगोल, रेणु डंगोल, सुरेन्द्र प्रधान, राजेन्द्रराम, इन्दु खत्री र प्रेमा मगरलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो। करिब २० जनाको संयुक्त टोली राहत संकलन, ढुवानी तथा हस्तान्तरणमा प्रत्यक्ष रूपमा खटिएको थियो।
यसैगरी, पार्टीका उपमहासचिव सुरेन्द्र प्रधानको नेतृत्वमा तथा स्थायी कमिटी सदस्य राजेन्द्ररामको सहभागितामा अर्को टोली रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले प्रभावित नागरिकको अवस्था बुझ्ने, राहतको आवश्यकता पहिचान गर्ने तथा उद्धार र राहत कार्यमा प्रत्यक्ष रूपमा सहयोग गरिरहेको पार्टीले जनाएको छ।
‘पहिले मानवता, त्यसपछि राजनीति’
पार्टीले बाढी–पहिरोलगायतको विपत्तिलाई कुनै राजनीतिक, जातीय, धार्मिक वा क्षेत्रीय सीमाभन्दा माथि उठेर मानवीय संकटका रूपमा लिनुपर्ने बताएको छ। संकटको यस घडीमा सिंगो देश एकजुट भएर पीडित नागरिकको साथमा उभिनुपर्ने भन्दै पार्टीले राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, युवा तथा विद्यार्थी संगठन, विभिन्न समुदायका अगुवा, उद्योगी–व्यवसायी तथा देश–विदेशमा रहेका नेपालीलाई राहत संकलन र वितरण अभियानमा सहभागी हुन आह्वान गरेको छ।
पार्टीले देशभित्र र विदेशबाट प्राप्त सहयोग, सद्भाव तथा मानवीय समर्पणप्रति आभार व्यक्त गरेको छ। दुःखमा परेका नागरिकलाई सहयोग गर्नु नै अहिलेको प्रमुख मानवीय दायित्व भएको पार्टीको जनाएकाे छ । “विपत्तिले हामीलाई विभाजित होइन, अझ बलियो रूपमा एकताबद्ध बनाउनुपर्छ” भन्ने भावनासहित पार्टीले प्रभावित नागरिकलाई तत्काल राहतसँगै पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा समेत निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया