काठमाडौ । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हालसम्म ३४ देशका ५९० विदेशी नागरिक बेपत्ता रहेको जनाएको छ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी (पूर्व र पश्चिम) सम्म ९ हजार ३०० भन्दा बढी नेपाली सेना उद्धार तथा खोजी कार्यमा परिचालित छन्।
भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी आवश्यक उपकरणसहित परिचालित रहेको र चिलिमेतर्फ थप एक्स्काभेटर पठाउने तयारी भइरहेको उनले बताए। त्यस्तै, लाङटाङतर्फ सेना तथा प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको मन्त्रालयले जनाएको छ।
माथिल्लो त्रिशूली–३ ‘ए’ मा चिनियाँ टनेल टोली र नेपाली सेनासहित ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति र उपकरणसहित उद्धार तथा खोजीमा खटिएको छ। बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट ५ सदस्यीय विशेष फरेन्सिक टोली कार्यक्षेत्रमा परिचालित रहेको प्रवक्ता पौडेलले जानकारी दिए।
विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक र एसियाली विकास बैंकलगायत दर्जनौँ मित्रराष्ट्र तथा दातृ निकायले ऐक्यबद्धता र सहयोग जनाएको पनि उनले बताए। प्रवक्ता पौडेलका अनुसार केरुङबाट १४० जना नेपाली तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेका छन् भने चिनियाँ सीमा क्षेत्रमा अझै करिब १०० नेपाली बेपत्ता छन्।




प्रतिक्रिया