‘जलवायु न्यायका लागि अन्तरराष्ट्रियस्तरमा कूटनीतिक पहल आवश्यक’


काठमाडौँ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले भोटेकोशी बाढीका विषयमा जलवायु न्यायका लागि अन्तरराष्ट्रिय मञ्चमा कूटनीतिक पहल गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

सभाको विशेष समयमा उनले भोटेकोशीमा गएको अकल्पनीय बाढी सामान्य प्राकृतिक विपद् मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष र घातक परिणाम भएको बताए । उनले भने, “विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान शून्य छ तर यसको असन्तुलित र घातक मूल्य नेपाली नागरिकहरू भोग्नु परेको छ ।” उनले नेपालले अब अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायु अधिकारका रूपमा ‘जलवायु न्याय’ माग्नुपर्ने स्पष्ट पारे ।

त्यसैगरी बैठकमा नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले सुरुङभित्र फसेका नागरिकको उद्धार गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखिन् । उनले भारतलगायत विभिन्न देशमा समेत प्रलयमा परेर सुरुङमा फसेका नागरिकको उद्धार गरिएको उदाहरण पनि सुनाइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गङ्गादेवी श्रेष्ठले भोटेकोशी बाढीमा बेवारिसे भएका बालबालिकाको अभिभावक राज्य हुनुपर्ने बताइन् । उनले उनीहरूको सुरक्षा, स्वास्थ्य, शिक्षामा सरकारले दायित्वबोध गर्नुपर्ने सुनाइन् ।