काठमाडौं, भदौ १८ गते । स्वतन्त्र नागरिक अभियान नेपाल र बागेश्वर धामको संयुक्त पहलमा भोटेकोशी बाढीबाट प्रभावित करिब १५ सय परिवारलाई राहत सामग्री वितरण गरिने भएको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा गएको बाढीका कारण प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गर्न लागिएको स्वतन्त्र नागरिक अभियान नेपालका केन्द्रिय सदस्य देवेन्द्र चौधरीले जानकारी दिए ।
बागेश्वर धामको शिष्य समेत रहेका चौधरीले भने, ‘राहत सामग्री बाढीबाट प्रभावित तथा समस्यामा परेका परिवारलाई प्राथमिकताका आधारमा वितरण गरिने छ । विपद्का कारण घर, खाद्यान्न तथा दैनिक आवश्यकताका सामग्री गुमाएका परिवारलाई केही राहत पु¥याउने उद्देश्यले अभियान अघि बढाइएको हो । राहत सामग्रीमा बाढीपीडित परिवारको तत्काल आवश्यकता पूरा हुने खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री समावेश गरिएको छ।’
करिब १५ सय बाढीपीडित परिवारसम्म राहत सामग्री पु¥याउने लक्ष्यसहित सञ्चालन हुन लागेको अभियानले विपदबाट प्रभावित परिवारलाई तत्कालीन आवश्यकतामा सहयोग पुग्ने चौधरीले जानकारी दिए । राहत वितरणका क्रममा सरकार र स्थानीय स्तरमा समन्वय गरी वास्तविक पीडित परिवारलाई सामग्री उपलब्ध गराइने उनको भनाई छ ।
स्वतन्त्र नागरिक अभियान नेपाल र बागेश्वर धामले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै राहत अभियानमा सहकार्य गरेका हुन्। विपद्का कारण घरपरिवारको दैनिकी प्रभावित भएका अवस्थामा राहत सामग्रीले केही समयका लागि भए पनि पीडित परिवारको दैनिक आवश्यकता पूरा गर्न र तत्कालको संकट व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया