काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा बढाइएको छ।
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको भए पनि काठमाडौं उपत्यकाका उद्योगीले थप ढुवानी लागत भन्दै मूल्य बढाएका हुन्। नयाँ मूल्यअनुसार अब उपत्यकामा एक सिलिन्डर ग्यासको मूल्य २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
नेपाल एलपी ग्यास उद्योग संघले भदौ १८ गते बसेको वार्षिक साधारणसभाको निर्णयअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।
संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार कृष्णभीरमा पहिरो गएपछि ग्यासका बुलेट काठमाडौंसम्म ल्याउन नसकिएको र तराईका उद्योगमा ग्यास भरेर पुनः अर्को माध्यमबाट काठमाडौं ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढेको हो।
उनका अनुसार यसअघि एउटा बुलेटबाट करिब १ हजार २ सय ५० सिलिन्डर ग्यास काठमाडौं ल्याइन्थ्यो। अहिले तराईमा ग्यास भरेर थप ढुवानी गर्नुपर्ने भएकाले लागत बढेको उद्योगीको भनाइ छ।
घिमिरेले वास्तविक ढुवानी खर्च प्रतिसिलिन्डर १ सय ८० रुपैयाँसम्म पर्ने भए पनि उपभोक्ताबाट १ सय ५ रुपैयाँ ३८ पैसा मात्र थप गरिएको दाबी गरे।
नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले पनि ग्यासको खरिद मूल्य नबढेको तर ढुवानी लागत बढेका कारण उपभोक्ता मूल्य समायोजन गरिएको बताए।
उनका अनुसार नेपाल आयल निगमले काठमाडौंसम्मको नभई निश्चित दूरीसम्मको मात्र ढुवानी खर्च उपलब्ध गराउने व्यवस्था छ। ५० किलोमिटरभन्दा बढी दूरीबाट ग्यास ल्याउँदा अतिरिक्त ढुवानी खर्च उद्योगीले लिन पाउने निगमसँगको सहमति र प्रावधानअनुसार मूल्य बढाइएको उनको दाबी छ ।




प्रतिक्रिया