चारतले भवन भत्कियाे, ६० जना विद्यार्थी फसेको आशङ्का


नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा ५० देखि ६० जना  विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। लगातार तीन दिनदेखि भइरहेको वर्षाबिच भवन भत्किएको हो।

आइतबार दिउँसो करिब १ः ३० बजे भवन भत्किएको सूचना पाएपछि दमकल, दिल्ली प्रहरी, दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए), नगर निगम, नागरिक सुरक्षा स्वयंसेवक र राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का टोली उद्धारमा खटिएका छन्।

प्रारम्भिक विवरणअनुसार भवनमा विद्यार्थीको होस्टल वा पीजी सञ्चालन भइरहेको थियो। भवन भत्किँदा धेरै विद्यार्थी आफ्ना कोठाभित्रै रहेको बताइएको छ। उद्धार टोलीले अहिलेसम्म तीन विद्यार्थीलाई जीवितै बाहिर निकालेर एम्स ट्रमा सेन्टरमा उपचारका लागि पठाएको जनाइएको छ। केही विद्यार्थी घाइते भएको विवरण पनि आएको छ।

उद्धार कार्यका क्रममा भग्नावशेष हटाएर भित्र फसेकाहरूलाई सुरक्षित निकाल्ने प्रयास भइरहेको छ । भवनमा कति जना थिए भन्ने यकिन विवरण दर्ता अभिलेख जाँच गरेपछि मात्र स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।

घटनापछि आसपासको अर्को भवनसमेत जोखिममा पर्न सक्ने भन्दै प्रशासनले त्यसलाई सावधानी स्वरूप खाली गराएको छ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन्। उनले सबै सम्बन्धित निकायलाई समन्वय गरेर उद्धारमा जुट्न निर्देशन दिइएको र प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने प्रयास भइरहेको बताएकी छन्।

यसैबिच, पूर्वमुख्यमन्त्री आतिशीले घटनाको उच्चस्तरीय छानबिन गर्न माग गरेकी छन्। लगातारको वर्षाका कारण भवन कमजोर भएर भत्किएको हुन सक्ने आशङ्का गरिए पनि दुर्घटनाको वास्तविक कारणबारे तत्काल आधिकारिक पुष्टि भएको छैन। एजेन्सी