काठमाडौं, भदौ २२ । मनास्लु हिमाल आरोहणका लागि यस वर्षको शरदऋतुमा ३४८ जना आरोहीले अनुमति लिएका छन्। तर, आरोहणको मुख्य मौसम सुरु हुनै लाग्दा मनास्लु पदमार्गमा बाढीले पुलहरू बगाएपछि पदयात्रा भने अनिश्चितकालका लागि रोकिएको छ। पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार शरदऋतुमा हिमाल आरोहणका लागि हालसम्म ३२ टोलीका ३६७ जनाले अनुमति लिएका छन्। तीमध्ये मनास्लु आरोहणका लागि मात्रै २९ टोलीका ३४८ आरोहीले अनुमति लिएका हुन्। यसको खतरनाक प्रतिष्ठाका कारण किलर माउन्टेनको रूपमा प्रसिद्ध छ ।
मनास्लु आरोहणका लागि जारी अनुमतिबाट मात्रै सरकारले १५ करोड ८७ लाख ५६ हजार २५० रुपियाँ रोयल्टी संकलन गरेको छ। यस सिजनमा विभिन्न हिमालको पर्वतारोहण अनुमतिबाट हालसम्म १५ करोड ९६ लाख २० हजार ८२८ रुपियाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लुमा पछिल्ला वर्षहरूमा आरोहीको आकर्षण बढ्दै गएको छ। तर, यसपटक आरोहणको तयारी भइरहेका बेला प्राकृतिक विपत्तिले पदमार्गमै अवरोध सिर्जना गरेको हो ।
आइतबार आएको बाढीले थेराङखोलामाथिको चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल बगाएको छ। त्यस्तै, बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बाढीले बगाएपछि मनास्लु पदमार्ग र लार्केपास जाने बाटो अवरुद्ध भएको छ । पुलहरू बगाएर पदमार्गमा आवतजावत नै जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ।
प्रशासनले पदयात्राको तयारीमा रहेका तथा यसअघि नै यात्रामा निस्किएका पदयात्रीलाई समेत यात्रा स्थगित गर्न भनेको छ। यससँगै मनास्लु आरोहणका लागि जाने आरोही तथा उनीहरूका सहयोगीसमेत प्रभावित हुने अवस्था बनेको छ।




प्रतिक्रिया