कृष्णभिरमा सातवटा एक हातभन्दा बढी चौडाइका फाटेका चिरा भेटिए


काठमाडौं, भदौ २२ । पृथ्वी राजमार्गको कृष्णभीरमा राजमार्ग भासिएपछि सडक सञ्चालनका लागि डाइभर्सन निर्माण भइरहेका बेला त्यसको माथिल्लो भागमा पहिरोको जोखिम देखिएको छ।

डाइभर्सनको ट्र्याक खोलिएको स्थानभन्दा माथिको भिरमा १० देखि १५ मिटर लम्बाइका पाँचदेखि सातवटा, एक हातभन्दा बढी चौडाइका धाँजा फाटेका चिरा देखिएका छन्। ती चिरा पहिरोका दृष्टिले अत्यन्त जोखिमपूर्ण रहेको भूगर्भविद् संयोग खनालले बताए।

“यी चिरा परेको भागबाट पानी भित्र पसेमा ठूलो पहिरो जान सक्ने जोखिम छ। यसले राजमार्गमा दीर्घकालीन समस्या निम्त्याउन सक्छ,” उनले भने, “कृष्णभीर आफैँमा पुरानो पहिरोमा अडिएको क्षेत्र हो। अहिले देखिएका चिरा भित्रसम्म कति गहिरा छन् भन्ने अध्ययन नगरी जोखिम कति हुन्छ भनेर यकिन गर्न सकिँदैन।”

२०५६ सालतिर पनि यो भिरमा पहिरो गएपछि लामो समयसम्म समस्या भएको थियो। यसपटक भने राजमार्गभन्दा मुनि त्रिशूली नदीले कटान गर्दा राजमार्ग भासिएको हो। नदीको कटानबाट राजमार्ग जोगाउन निर्माण गरिएको करिब सय मिटर लामो टो वाल (टेवा पर्खाल) भत्किएपछि राजमार्ग भासिएको थियो। जियो टेक्निक सोसाइटीका महासचिव कल्पना अधिकारीले पनि चिरा परेको भाग जोखिमपूर्ण रहेको स्वीकार गरे।

“राजमार्गलाई पहिरोको जोखिमबाट बचाउन माथि चिरिएका भागको मर्मत आवश्यक छ। मर्मत नगरी समस्या समाधान हुन सक्दैन,” उनले भने । अहिले करिब १२० मिटर लम्बाइ र नौ मिटर चौडाइमा राजमार्ग भासिएको छ। सडक भासिएपछि राजमार्ग सञ्चालनमा ल्याउन सँगै रहेको भिरमा शुक्रबारदेखि कटान सुरु गरिएको हो। सडक सञ्चालनका लागि अहिले एकतर्फी ट्र्याक खोलिएको छ। सडक विभागले सोही ट्र्याकलाई क्रमशः विस्तार गरी दुई लेन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ।

सडक खुलाउन अहिले आठ मिटर चौडाइ र २६० मिटर लम्बाइमा भिर कटान भइरहेको छ। कृष्णभीरमा गत सोमबार राजमार्ग भासिएपछि सडक अवरुद्ध छ। भिर कटान गरी राजमार्ग खुलाउने तयारी भइरहेका बेला भिरको माथिल्लो भागमा धाँजा फाटेका चिरा देखिएपछि विज्ञहरूमा चिन्ता थपिएको हो।