तेहरान । इरानले स्ट्रेट अफ होर्मुज नजिकै नयाँ ‘बहिष्करण क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार यस जलमार्ग भएर आवतजावत गर्ने जहाजहरूलाई लक्षित गरेर यो योजना घोषणा गर्न लागिएको बताएका छन् ।
इरानी सरकारी प्रसारकसँग कुरा गर्दै रेजाईले यसबारे थोरै विवरण मात्रै दिएका छन् । यो क्षेत्र अमेरिकी नौसेनाको नाकाबन्दी रहेको स्थानबाट सुरु भएर स्ट्रेट अफ होर्मुज हुँदै फारसको खाडीसम्म फैलिने बताइएको छ ।
अमेरिकाले तीन वटा इरानी तेल ट्याङ्करमा आक्रमण गरेको एक दिनपछि इरानले यस्तो घोषणा गर्न लागेको जानकारी आएको हो । इरानले अमेरिकी युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले ती ट्याङ्करमा आक्रमण गरेको थियो । अमेरिकी आक्रमणले इरान युद्धलाई झनै भड्काएको विश्लेषण गरिएको छ ।
इरानले ‘बहिष्करण क्षेत्र’ भनेर निर्धारण गरेको क्षेत्रमा प्रवेश गरी स्ट्रेट अफ होर्मुज पार गर्न खोज्ने र यस्तो प्रयास गरिरहेको भनेर पहिचान हुने जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राख्ने रेजाईले बताए । नयाँ क्षेत्र आगामी केही दिन वा हप्तामा घोषणा गरिने उनले बताए ।
अमेरिकाले इरानी बन्दरगाहलाई लक्षित गर्दै नाकाबन्दी गरिरहेको छ । अमेरिकी सेनाका अनुसार नाकाबन्दीमा २० भन्दा बढी युद्धपोत सहभागी छन् । आइतबारसम्म नाकाबन्दीका कारण ९२ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गरिएको र तीन वटा जहाज निष्क्रिय बनाइएको छ ।
जुलाईमा इरान अमेरिका युद्धविराम सम्झौता प्रगति बिनै टुङ्गिएपछि अमेरिकाले इरानको अर्थतन्त्रलाई चौपट बनाउन नयाँ उपायहरू ल्याइरहेको छ । इरानले पनि स्ट्रेट अफ होर्मुज पार गर्न खोज्ने केही जहाजमाथि आक्रमण जारी राखेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरान युद्ध सुरु भएको थियो । यस्तोमा इरानले अमेरिकासँगको युद्धमा स्ट्रेट अफ होर्मुजलाई अमेरिकालाई दबाब दिने साधन बनाइरहेको छ । एजेन्सी




प्रतिक्रिया