बार्सिलोनाको फराकिलो जित


काठमाडौं, भदौ २२ । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ५-० गोलले हराउँदै बार्सिलोनाले लिगमा लगातार चौथो जित निकालेको हो ।

घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामालले दुई गोल गर्दा फेर्मिन लोपेज, राफिन्हा र पेड्रीले समान एक/एक गोल गरे । खेलको छैटौँ मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

२२ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ५० औँ मिनेटमा राफिन्हाले गोल गर्दा बार्सिलोना फराकिलो जिततर्फ अगाडि बढेको थियो । ७९ औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको अग्रता दिलाए । यस्तै ८४ औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० गोलको जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १ अंक जोडेको भ्यालेन्सिया पुछारमा रहेको छ ।