झापा, २२ भदौ । जङ्गली हात्तीको त्रासका कारण जिउधन र खेतीबाली जोखिम प्रभावितले सरकारद्वारा प्रस्तावित ‘हात्ती करिडोर’ नीति तथा कार्यक्रम तत्काल फिर्ता लिन माग गरेका छन् । मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले सङ्घीय तथा प्रदेश सरकारको उक्त अवधारणाले परापूर्वकालदेखिको मानव थाकथलो नै विस्थापित हुने चिन्ता व्यक्त गरेका हुन् ।
‘हात्ती करिडोर’ कार्यान्वयनमा ल्याइए झापादेखि उदयपुरसम्मका लाखौँ नागरिक प्रभावित हुने जनाउँदै स्थानीयले ‘कृषि, भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान’ घोषणा गरेका छन् ।
हात्तीबाट सबैभन्दा बढी प्रभावित मेचीनगरका वडा नं १, २, ३ र ४ का बासिन्दाको भेलाले साविक बाहुनडाँगी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीको संयोजकत्वमा १०५ सदस्यीय ‘ कृषि, भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान मूल समिति’ गठन गरेको छ ।
अभियानका संयोजक निलकण्ठ तिवारीले पर्यटन प्रवर्द्धन र हात्ती संरक्षणको नाममा मानव बसोबासको इतिहास, सभ्यता र कृषि भूमिलाई मास्न नहुने सुझाव दिए । हरेक वर्ष भारतबाट हुलमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण झापादेखि कोशी टप्पुसम्म बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ ।
हात्ती नियन्त्रणको दीर्घकालीन समाधान खोज्न तथा मानव बसोबास नै सङ्कटमा पार्ने गरी करिडोर निर्माण स्थागन गर्न अभियानको सुझाव छ ।




प्रतिक्रिया