भोटेकोशीका बाढीप्रभावित क्षेत्रमा खटिने स्काउटलाई लायन्सद्वारा उद्धार सामग्री हस्तान्तरण


भक्तपुर । भोटेकोशीका बाढीप्रभावित क्षेत्रमा फोहोर तथा भग्नावशेष पन्छाउन खटिएका स्काउट स्वयंसेवकहरूलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जी, नेपालले प्राविधिक तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।

सोमबार बिहान भक्तपुर दरबार स्क्वायरस्थित भक्तपुर नगरपालिका स्थानीय स्काउट कार्यालयमा आयोजित कार्यक्रममा अग्रपंक्तिमा खटिने स्वयंसेवकहरूलाई उक्त सामग्री प्रदान गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीहरूमा १०० थान साबेल, १०० जोडी पञ्जा र ८० जोडी गमबुट रहेका छन्।

भक्तपुर लायन्स क्लब्स सेवा समन्वय समितिको समन्वयमा भएको उक्त कार्यक्रममा सूर्यविनायक, अरनिको, केदारेश्वर, गोल्डेन गेट, भादगाउँ, ख्वप, ङातापोलसहित काठमाडौँ उपत्यकाका ४० भन्दा बढी लायन्स क्लबहरूले सहकार्य गरेका थिए।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ का गभर्नर उत्तमप्रसाद कायस्थले ‘हामी सेवा गर्छौँ’ भन्ने नै लायन्स क्लबको मुख्य उद्देश्य भएको स्पष्ट पार्दै विपद्का बेला सम्बन्धित स्थानमा पुग्नु आफ्नो कर्तव्य भएको स्पष्ट पारे । भदौ १० गते आएको भोटेकोशी बाढीपीडितलाई राहत वितरण गरिसकेको जानकारी दिँदै गभर्नर कायस्थले यसअघि भूकम्प र अन्य विभिन्न क्षेत्रका बाढी-पहिरोपीडितलाई पनि लायन्स क्लबले राहत र उद्धारलगायतका कार्य गरेको स्मरण गरे । भोटेकोशी बाढीले विनाश गरेको रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खाद्यान्नभन्दा पनि बढी सरसफाइ र पुनर्स्थापनाका लागि साबेल, गमबुट जस्ता सरसामानको आवश्यकता रहेको बताउँदै कायस्थले तिनै सामग्री लायन्स क्लबले सहयोग गरेको जानकारी दिए । उनले आवश्यकताअनुसार क्लबले प्रभावित क्षेत्रमा अरु सहयोग गर्ने पनि वचन दिए ।
यसैगरी स्काउट भक्तपुर नगरपालिकाका स्थानीय आयुक्त बालकृष्ण बनमालाले लायन्स क्बले आफूहरुलाई विश्वास गरेर दिएको सामान प्रभावित क्षेत्रमा पुर्याएर सही सदुपयोग गर्ने वचनबद्धता दिलाए ।
उक्त कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ भक्तपुर बालकुमारी ठिमीका चार्टर प्रिन्सिपल एवं जीएसटी राज्यलक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।

‘साना कार्य, ठूलो प्रभाव’ तथा ‘सेवामा समर्पित’ भन्ने नाराका साथ सञ्चालित यस विपद् राहत कार्यक्रमले बाढीप्रभावित क्षेत्रमा सरसफाइ र पुनर्स्थापनाको कामलाई थप सहज बनाउने लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जी, नेपालले जनाएको छ।

लायन्स इन्टरनेसनलले विपद्का समयमा अग्रपंक्तिमा रहेर खटिने स्वयंसेवक र पीडित समुदायलाई लक्षित गरी सामाजिक तथा राहतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।