एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले यस वर्ष १ हजार गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्।

शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी सम्हालेपछि डा. शर्माले सामाजिक सञ्जालमार्फत केएमसी दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।

शर्माले फाउन्डेसनको जिम्मेवारीलाई आफूले केवल पदका रूपमा नभई ठूलो दायित्व र भावनात्मक जिम्मेवारीका रूपमा लिएको बताएका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थालाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउने आफ्नो संकल्प रहेको उनले उल्लेख गरेका छन्।

‘सेवाप्रतिको यही प्रतिबद्धतालाई व्यवहारमा उतार्दै यस वर्ष KMC दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत १,००० जना गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गर्दछु,’ शर्माले फेसबुकमा लेखेका छन्।

शर्माले आफूलाई फाउन्डेसनको सभापतिको जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति आभार व्यक्त गर्दै निवर्तमान सभापति सुजाता कोइरालालाई विशेष धन्यवाद दिएका छन्। साथै, नेतृत्व हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

शर्माले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई आफ्नो ‘पितातुल्य राजनीतिक अभिभावक’का रूपमा स्मरण गरेका छन्। गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्न पाउनु आफ्ना लागि भावनात्मक क्षण भएको उनको भनाइ छ।