काठमाडौं, भदौ २७ । भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो ।
अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी रु १५० देखि रु २०० सम्ममा खुर्सानी बिक्री गर्दै आएका छन् ।
पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्याङका स्थानीय किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्याङ सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० केजीसम्म खुर्सानी बाह्य जिल्लाका बजारमा पठाउने गरिएको छ । सडक सुविधाका कारण व्यापारी खुर्सानी खरिद गर्न सोझै किसानका खेतबारी र स्थानीय सङ्कलन केन्द्रसम्म पुग्ने गरेका छन् ।
तिवारीले विगत पाँच वर्ष अघिदेखि खुर्सानी खेतीसँगै अन्य किसानले उत्पादन गरेको खुर्सानी सङ्कलन गरेर बाहिर पठाउँदै आएको बताए । “स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु” उनले भने, “तिवारीभञ्याङबाट मात्र दैनिक ४०० केजीसम्म खुर्सानी सहरी क्षेत्रमा गइरहेको छ ।”
उत्पादन भएको खुर्सानी बिक्री गर्न र बजारीकरणका लागि हाल कुनै समस्या नरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान कमला थापाले बताए । भोजपुरको पहाडी हावापानीमा उत्पादन भएको अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाहिरी जिल्लामा माग उच्च रहेको उनको भनाइ छ ।
जिल्लामा यस वर्ष करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । यो वर्षको खुर्सानी अझै बिक्री भइरहेकाले कुल कति उत्पादन भयो भन्ने अन्तिम तथ्याङ्क आउन बाँकी रहेको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा भने जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा करिब रु २३ करोड भित्रिएको तथ्याङ्क रहेको प्रमुख यादवले जानकारी दिए । “अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” प्रमुख यादवले भने, “धेरै किसान खुर्सानीको व्यावसायिक खेतीमा आबद्ध रहेका छन् । यहाँको खुर्सानी बाह्य जिल्लामा ठुलो परिमाणमा निर्यात हुँदै आएको छ ।”
स्थानीय तहले पनि खुर्सानीको खेतीको लागि किसानलाई अनुदान सहयोग गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको खुर्सानीको सहरका बजारमा राम्रो माग रहेको किसानको भनाइ छ ।




प्रतिक्रिया