काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा उत्पन्न हुने वातावरणीय संकट र प्राकृतिक विपद्को असर सीमामा मात्र सीमित नहुने भएकाले नेपालसहित क्षेत्रका मुलुकबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित काष्ठमण्डप संवादलाई सम्बोधन गर्दै मन्त्री खनालले हिमालयको पारिस्थितिक प्रणाली राजनीतिक सीमाभन्दा परस्पर जोडिएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा साझा रणनीति बनाउनुपर्नेमा जोड दिए।
हालैको भोटेकोशी विपद्को प्रसंग उल्लेख गर्दै उनले मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ नागरिकप्रति आभार व्यक्त गरे। हिमाली क्षेत्रमा हुने वातावरणीय झट्का तथा प्राकृतिक विपद्को सामना गर्न संयुक्त पूर्वतयारी, सूचना आदानप्रदान र क्षेत्रीय समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै खनालले दुई देशबीचको सम्बन्ध केवल भौगोलिक निकटतामा आधारित नभएको बताए। सदियौँदेखि सीमापार समुदाय, व्यापार, संस्कृति र जनस्तरको आवागमनमार्फत नेपाल र चीनबीच गहिरो सभ्यतागत सम्बन्ध कायम रहेको उनले उल्लेख गरे।
उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमि चीनको वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि दोहोर्याए। दुई देशबीच रहेको सद्भावलाई अब ठोस आर्थिक तथा विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने उनको धारणा थियो।
सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीलाई थप प्रभावकारी बनाउँदै सीमापार कनेक्टिभिटी, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र साझा समृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनले बताए।
चीनले प्रविधि तथा नवप्रवर्तनमा हासिल गरेको प्रगतिबाट नेपालले पनि लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले अनुसन्धान, प्रयोगशाला, नवप्रवर्तन र ज्ञान आदानप्रदानमा सहकार्य बढाउनुपर्ने बताए। यस्तो सहकार्यले नेपालको जनसाङ्ख्यिक लाभांशलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुग्ने उनको भनाइ छ।




प्रतिक्रिया