हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत


काठमाडाैं । नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदुत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए ।

उनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सिमित नरहने भन्दै विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिए । चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै उहाँले कुनैपनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताए ।

राजदुत झाङले हिमाली विपद्को जोखिम न्युनिकरणका लागि नेपाल र चीनबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । विपद्को पूर्वसूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपत्कालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले चीनले विपद्का बेला नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्व देखाएको बताए । गत अगस्ट २६ को बाढी तथा पहिरोपछि चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोगसहित ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगालगायत राहत सामग्री उपलब्ध गराएको उनले जानकारी दिए ।

विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञसमेत नेपाल पठाइएको राजदुत झाङले बताए ।