परराष्ट्रमन्त्री खनालकाे प्रतिबद्धता-‘नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ’


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे । हिमताल विस्फोट र अरू प्राकृतिक प्रकोपबाट बच्न रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गरिनुपर्नेमा उनले जोड दिए ।

नेपाली चिया, कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँच दिन देशमै अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको उनले धारणा राखे ।