काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ को वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। आगामी २०८३ साल असोज ३ गते शनिबारका दिन हुने भनिएको उक्त अधिवेशनको तयारीस्वरूप आज स्थानीय नेता उपेन्द्र कार्किको निवासमा विशेष बैठक सम्पन्न भएको हो।

छलफलमा सहमति, सहकार्य र एकतालाई आत्मसात गर्दै वडाको अधिवेशनलाई पूर्ण रूपमा सर्वसम्मतिमा टुंग्याउने कुरामा विशेष जोड दिइएको छ। कांग्रेसभित्र सुदृढ एकता कायम राख्दै पार्टीलाई अगाडि बढाउने उद्देश्यले भएको यस बैठकमा नेताहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो।
बैठकमा काठमाडौं क्षेत्र नं. २ का सभापति कविर शर्मा, महासमिति सदस्यद्वय शंकर थापा र श्याम कार्की लगायतका विशिष्ट नेतागण तथा क्षेत्रका सक्रिय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पार्टी संगठनलाई अझ चलायमान र सुदृढ बनाउँदै वडा अधिवेशनलाई भव्यताका साथ सफल पार्न सबै पक्षबीच निरन्तर सहकार्य र समन्वय रहने नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का कृयाशील सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले जानकारी दिएका छन्।





प्रतिक्रिया