हेटौँडा । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित यातायात सेवा तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई तीनवटा मोड्युलर पुल सहयोग गरेको छ।
भारतले ७० मिटर लम्बाइका एकतर्फी तीनवटा मोड्युलर पुल उपलब्ध गराएको हो। प्राप्त पुलहरू शनिबार सडक डिभिजन हेटौँडालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
सडक डिभिजन हेटौँडामा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका फर्स्ट सेक्रेटरी नारायण सिंहले पुलहरू हस्तान्तरण गरे। कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामालगायतको उपस्थिति थियो।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सडक तथा पुलमा व्यापक क्षति पुर्याएको थियो। बाढीको प्रभावका कारण रसुवादेखि चितवनसम्मका विभिन्न स्थानमा रहेका दर्जनौँ मोटरेबल पुल क्षतिग्रस्त हुँदा सडक यातायात प्रभावित भएको छ।
क्षतिग्रस्त पुलका कारण लामो समयसम्म यातायात अवरुद्ध हुन नदिन सरकारले अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ। सोही क्रममा भारतबाट प्राप्त मोड्युलर पुललाई आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा जडान गरिने सडक डिभिजनले जनाएको छ।




प्रतिक्रिया