बाढीपीडितलाई इजरायलको निरन्तर मानवीय सहयोग, त्रिशूलीमा अत्यावश्यक सामग्री हस्तान्तरण


काठमाडौं, २७ भदौ । इजरायलले नुवाकोटको विदुर नगरपालिका–२, त्रिशूलीमा बाढीबाट प्रभावित समुदायका लागि आपत्कालीन मानवीय सहायता उपलब्ध गराएको छ।


नेपालस्थित इजरायली दूतावासकी कार्यवाहक प्रमुख जानान बेबारले बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी प्रभावित व्यक्ति तथा परिवारलाई आपत्कालीन गो–ब्यागसहित आवश्यक सामग्रीका बाकस हस्तान्तरण गरेकी हुन्।


सहयोग हस्तान्तरणका क्रममा बेबारले बाढीबाट प्रभावित समुदायको पीडा कम गर्न आफूहरू पूर्ण रूपमा सक्षम नभए पनि एकअर्कासँग उभिएर सहयोग गर्न सकिने बताइन्। त्रिशूलीमा पीडा वास्तविक भए पनि मानवीय शक्ति र एकतासमेत उत्तिकै बलियो रहेको उनको भनाइ थियो।


उनले बाढीबाट प्रभावित समुदायलाई पुनःस्थापना र पुनःउत्थानको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलको यो निरन्तर सहयोग प्रभावित समुदायप्रतिको ऐक्यबद्धताको प्रतीक भएको बताइन्।


बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनःउत्थानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले इजरायलको सहयोगलाई निरन्तरता दिइने बताइन्।

नुवाकोटमा गरिएको पछिल्लो सहयोग इजरायली दूतावासको बाढी प्रभावित क्षेत्रका लागि दोस्रो चरणको राहत हो। यसअघि दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका बाढी प्रभावित समुदायलाई प्रारम्भिक राहत उपलब्ध गराएको थियो।

दूतावासले प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे सम्बन्धित नेपाली निकायसँग समन्वय गरिरहेको जनाएको छ। राहत तथा पुनःस्थापनाको काम अघि बढ्दै जाँदा पहिचान भएका आवश्यकताअनुसार सहयोग जारी राख्ने पनि दूतावासले जनाएको छ।