जेन–जी आन्दोलनमा नख्खु कारागारबाट फरार करणी मुद्दाका अभियुक्त १ करोड बढी ठगी आरोपमा पक्राउ


काठमाडौं । जेन–जी आन्दोलनका बेला नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी नक्कली सुन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीले ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई बिहीबार साँझ टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार थापाले विभिन्न व्यक्तिलाई सक्कली सुन भएको भन्दै नक्कली सुन देखाएर पटक–पटक रकम लिने गरेका थिए। यसरी उनले १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापामाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद दिएको छ।

थापा जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका बेला गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए। फरार रहेकै अवस्थामा उनले नक्कली सुन देखाएर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।