मोदी, जिनपिङ र पुटिन एउटै फ्रेममा : विश्वव्यापी संकट र आपूर्ति शृंखलाबारे चिन्ता


नयाँ दिल्ली । जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको आइतबार दोस्रो दिन चलिरहेको छ ।  दोस्रो दिनको सम्वोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा बढ्दो तनाव, महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा देखिएका समस्याले एक देशको संकटले अन्य देशलाई समेत प्रभावित पार्ने अवस्था आएको बताएका छन् ।

नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजित सम्मेलनको खुला सत्रमा बोल्दै मोदीले विश्वका देशहरू एकअर्कासँग गहिरोसँग जोडिएकाले कुनै एक ठाउँमा उत्पन्न हुने संकटको प्रभाव अन्य देशमा समेत पर्ने बताएका हुन् ।

उनले महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा देखिएका अवरोधले विश्वव्यापी अन्तरनिर्भरता स्पष्ट पारेको उल्लेख गरे । विश्वमा बढ्दो तनावले आम मानिसको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको उनको भनाइ थियो ।

ब्रिक्समा एकीकृत पूर्वचेतावनी प्रणाली बनाउने सहमति
मोदीले यस्ता संकटको सामना गर्न ब्रिक्स राष्ट्रहरूलाई पूर्वतयारी अवस्थामा राख्न भारतले विशेष जोड दिएको बताए ।

उनका अनुसार संक्रामक रोगको फैलावट रोक्न तथा त्यसबाट उत्पन्न हुने संकट व्यवस्थापन गर्न ‘ब्रिक्स एकीकृत पूर्वचेतावनी प्रणाली’ निर्माण गर्ने सहमति भएको छ ।

त्यसैगरी, विपद् व्यवस्थापनका लागि पूर्वचेतावनीसम्बन्धी तथ्यांकलाई एकीकृत गर्ने दिशानिर्देशसमेत तयार पारिएको उनले जानकारी दिए । यस्तो सहकार्यले सदस्य राष्ट्रहरूलाई सम्भावित संकटबारे समयमै सूचना प्राप्त गर्न र जोखिम न्यूनीकरणका उपाय अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सहकार्य, नवप्रवर्तन र दिगोपनामा जोड
ब्रिक्सको बढ्दो प्रभाव, आकर्षण र सदस्य राष्ट्रहरूबीचको विश्वासले संगठनको विस्तार तथा सक्रियता देखाएको मोदीले बताए । भारतको अध्यक्षतामा ब्रिक्सको कामलाई चार प्रमुख आधारमा अघि बढाइएको उनको भनाइ थियो ।

उनले लचकता, नवप्रवर्तन, सहकार्य र दिगोपनलाई प्राथमिकताका रूपमा प्रस्तुत गरे । ब्रिक्स राष्ट्रहरूबीचको सहकार्यबाट साझा सोचलाई व्यवहारिक कार्यमा रूपान्तरण गरी सबै सदस्य राष्ट्रलाई लाभ पुर्‍याउने प्रयास गरिएको उनले बताए ।

मोदी, जिनपिङ र पुटिन एउटै फ्रेममा
सम्मेलनको दोस्रो दिनको समूह तस्बिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री मोदीसँगै देखिएका थिए । यसअघि मोदीले भारत मण्डपमा रुसी राष्ट्रपति पुटिनलाई स्वागत गरेका थिए ।

सम्मेलनमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, भियतनामका प्रधानमन्त्री ले मिन्ह हङ, बुरुन्डीका राष्ट्रपति एभरिस्ट न्दायिशिमिये र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियरलगायतका नेताहरू भारत मण्डप पुगेका थिए ।

यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र सांसद प्रियंका गान्धी वाड्रासँग बिहानको खानामा भेटवार्ता गरेका छन् ।
सम्मेलनको दोस्रो दिन विश्वव्यापी सहयोग, आर्थिक विकास, व्यापार, सुरक्षा तथा समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुने कार्यक्रम छ । मोदीले विभिन्न राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।