साउदी अरबकाे सैन्य अखडा हुथी विद्रोहीको निशानामा


सना । यमनका हुथी विद्रोहीहरूले दक्षिणी साउदी अरबमा रहेको एउटा सैन्य अखडालाई ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत निशाना बनाएको दाबी गरेका छन् । हुथी सैन्य प्रवक्ता याह्या सरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको भन्दै बीबीसी फारसीले समाचार छापेको छ ।

याह्या सरीका अनुसार दक्षिणी साउदी अरबमा रहेको शरूरा सैन्य अखडामा हमला गरिएको हो । उनका अनुसार उक्त हमलामा साउदी अरबका हतियार भण्डार तथा कमान्ड एन्ड कन्ट्रोल केन्द्रहरूलाई निशाना बनाइएको थियो ।

यद्यपि,हुथी प्रवक्ताले हमला कुन समयमा भएको हो भन्नेबारे जानकारी दिएका छैनन् । ‘यदि यमनविरुद्ध सैन्य कारबाही जारी रह्यो भने हुथीहरूले साउदी क्षेत्रभित्रका इलाकामा ठुला हमला गर्न सक्छन्,’ उनले साउदी अरबलाई चेतावनी दिँदै भनेका छन् ।

यसैबिच,एक्सियोसको एउटा समाचारमा साउदी अरबका युवराजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुथी विद्रोही विरुद्ध सैन्य कारबाही गर्न माग गरेको दाबी गरिएको छ । तर ट्रम्पले उक्त माग अस्वीकार गरेको समाचारमा भनिएको छ । एजेन्सी