बालेन सरकारको कार्यशैली र मन्त्रीहरूको क्षमतामाथि सेढाईंले के भने ?


काठमाडौं । साढे चार महिनाको बन्दपछि पुनः सञ्चालनमा आएको रिपोर्टर्स क्लब नेपालको पहिलो उद्घाटन साक्षात्कार कार्यक्रममा मन्तव्य राख्दै राजनीतिक विश्लेषक हेमन्त सेढाईंले क्लब बन्द हुँदा सञ्चार जगतले एक प्रमुख बहसको मञ्च गुमाएको तर्क गरे। सो अवधिमा पत्रकारहरूको अवस्थालाई संकेत गर्दै उनले ‘माउबिनाको चल्ला’ को उपमा दिए।

नेपालको पत्रकारिता इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक रूपान्तरणका चरणहरू पार गर्दै यहाँसम्म आइपुग्न रिपोर्टर्स क्लबले पुर्याएको योगदान अतुलनीय रहेको उनले स्पष्ट पारे।

यसैबीच, जेनजी आन्दोलनको रापताप र त्यसपछिको निर्वाचनबाट निर्मित बालेन नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार गति लिन नसकेको सेढाईंको निष्कर्ष छ। १८ सदस्यीय मन्त्रिमण्डलको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उनले भने, ‘अहिले मुस्किलले ६ जना मन्त्रीको मात्रै नाम सुनिन्छ, बाँकी १२ जना मन्त्रीको नाम नै सुनिँदैन ।’
मन्त्रीहरूले परिणाममुखी काम गर्न नसकेकै कारण उनीहरू जनमानसमा ओझेलमा परेको सेढाईंको जिकिर थियो।

पुराना नियुक्ति खारेज गरेर पुनः तिनै पुराना पात्रहरूलाई दोहोर्याइनुले सरकारले सिद्धान्त र बाटो बिराउँदै गएको सेढाईंले संकेत गरे ।

सरकार र सत्ताघटक दल रास्वपाबीच बढ्दो संवादहीनताले सत्ता समीकरणलाई नै जोखिममा पार्न सक्ने विश्लेषक सेढाईंको चेतावनी छ। मन्त्री नियुक्ति हुँदा पार्टी सभापति रवि लामिछानेले थाहा नपाउनुले सरकार र दलबीच संवादहीनता बढ्दै गएको उनले उल्लेख गरे ।

विगतका शक्तिशाली र दुई तिहाइ बहुमतप्राप्त सरकारहरू पनि आन्तरिक संवादहीनता र एकांकी कार्यशैलीकै कारण ढलेको इतिहास स्मरण गराउँदै सेढाईंले प्रधानमन्त्री बालेनलाई सचेत गराएका छन्। दलहरूसँगको आवश्यक संवाद र समन्वयबिना एक्लै अघि बढ्न खोजे वर्तमान सरकार कुन मोडमा पुगेर अड्किने हो भन्ने गम्भीर प्रश्न उनले उठाए ।