बझाङ, २९ भदौ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन् । भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन छन् ।
जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी सुरु गरेका छन् । डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ । खड्का बेपत्ता भएको छ दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ । उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजीकार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उनका काका फिट्टु खड्काले बताए ।
परिवारले बेपत्ता खड्काको खोजी कार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ । खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपिल गरेको छ ।
परिवारले खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन स्थानीयवासी तथा सबै सरोकारवालासँग आग्रह गरेको छ ।




प्रतिक्रिया