काठमाडौं, भदौ २९ । बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ ।
नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छन् ।
रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए । “असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएका थिए”, नरमायाले भनिन्, “१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन ।”
नरमायालाई नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले गर्यो कि ? भन्ने आस लाग्छ । छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायमा गुहार मागेकी नरमायालाई काठमाडौँदेखि घर फर्कने आँट आएको छैन ।
“छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु ?”, नरमायाले प्रश्न गरिन्, “तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो । भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झनै पीडा थपिदियो ।” खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ ।
नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिको काम गर्थे । नन्दबहादुर बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनकी थिइन् । अवस्था पहिचान नभएपछि आफन्त र गाउँलेहरूको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काज किरिया भइसकेको छ ।
नरमायाले आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको बताइन् । नन्दबहादुरले नागरिकता बनाएका थिएनन् । उनीहरूबीच कागजी रूपमा विवाह दर्ता पनि भएको थिएन । प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित छन् ।
कक्षा ८ सम्म पढेका भुपेन्द्रले बहिनीलाई ज्याला, मजदुरी गरेर कक्षा १० सम्म पढाए । गत जेठमा नाकमा समस्या देखिएपछि भुपेन्द्रले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए । भुपेन्द्रले पोखराबाटै आमालाई घर पठाएर मजदुरी गर्न रसुवा गएका थिए । नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन । मासिक रु २१ हजारको औषधि सेवन गर्नुपर्छ । नरमायालाई थप उपचारका लागि असोजमा काठमाडौँ लैजाने भुपेन्द्रको योजना थियो ।
स्थानीय ओखरबोट माविका शिक्षक नवीन पुनले नरमायाको जीवनमा एकपछि अर्को बज्रपात परेको बताए । “नरमायालाई चिकित्सकले ब्रेन ट्युमरको आशङ्का गरेर थप उपचारका लागि काठमाडाैँ वा भारत जान भनेपछि पैसा जुटाउन रसुवा पुगेका भुपेन्द्रलाई बाढीले बेपत्ता बनायो”, उनले भने, “नरमायासामु बेपत्ता छोरा खोज्नेमात्र नभएर आफ्नो उपचार कसरी गर्ने भन्ने चुनौती सृजना भएको छ ।”
बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र आफ्नो उपचारका लागि स्रोत जुटाउन हिँडेकी आमालाई सघाउन सकेकी छैनन् । शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन भएको छ ।
“एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरेको अपिलबाट नरमायाको खातामा करिब रु दुई लाख ५० हजार जम्मा भएको छ । प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब रु आठ लाख जुट्ने अनुमान गरेको छु”, पुनले भने, “रोग पहिचान र उपचार गरिदिन पाए हुन्थ्यो तर अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्तसमेत नभएर अप्ठ्यारो परेको छ ।”




प्रतिक्रिया