त्रिशूली-भोटेकोशी बाढी: ४ हजारभन्दा बढीको उद्धार, प्रभावित क्षेत्रमा ८,९०० सेना परिचालन


काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म ४ हजार १७७ जनाको उद्धार गरेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धार गरिएकामा ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्। मंगलबार मात्रै हवाई साधनमार्फत थप २० जनाको उद्धार गरिएको छ।

सेनाले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरेको छ।

चिलिमे हाइड्रो: एक्स्काभेटर र लोडर प्रयोग गरी करिब १०० मिटर डेब्रिस हटाइएको छ। टनेलभित्र पानी भेटिएकाले डोरीको सहायताले भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ। स्याफ्रुबेँसीलाई धुन्चेसँग जोड्न खोलामा तुइनसमेत जडान गरिएको छ।

लाङ्गटाङ्ग जलविद्युत्: विदेशी प्राविधिकसहितको टोलीले ड्रोनमार्फत टनेलभित्र खोजी गरे पनि हालसम्म कुनै स्थिति पत्ता लाग्न सकेको छैन।

त्रिशूली-३बी: आयोजनाको आवासगृह, कार्यालय भवन तथा टनेल क्षेत्रमा हेभी इक्विपमेन्ट प्रयोग गरी पावरहाउसतर्फ खोजी कार्य अघि बढाइएको छ।

रसुवागढी, माथिल्लो त्रिशूली-१ र त्रिशूली-३ए: सेना र आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले पावरहाउस तथा टनेल क्षेत्रमा खोजी जारी राखेका छन्।

रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतगायतका क्षेत्रमा सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार गरिरहेको छ। स्याफ्रुबेँसीमा मात्रै तीन वटा टोली खटिएका छन्।

सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट हालसम्म ३ हजार ७८४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ शीतल बजारमा सडक खुलाउन भित्तातर्फको कडा चट्टान फुटाउने (ब्लास्टिङ) काम भइरहेको सेनाले जनाएको छ।